अमेरिका-उत्तर कोरिया सम्बन्ध : युद्धबिरामदेखि शिखर वार्तासम्म

सुरेन्द्र ढकाल

अमेरिका र उत्तर कोरियाबीचको शत्रुताको प्रमुख कारण शीत युद्ध हो । यही कारण १९औं शताब्दिको मध्यतिर नै उत्तर कोरियाले आफ्नो सीमा पश्चिमी देशहरुको लागि बन्द गरेको थियो । कोरिया र अमेरिकाबीचको सम्बन्धको इतिहास खोतल्दै जाँदा सन् १८६६ को जनरल सेरमन घटना उल्लेख गर्नपर्ने हुन्छ । त्यतिखेर कोरियाली सैनिकहरुले नआउ भन्दाभन्दै ब्यापार विषयमा कुरा गर्न आएको अमेरिकी
युद्धपोतलाई आक्रमण गरी चालक दलका सदस्यहरुलाई मारेपछि अमेरिकाले त्यसको प्रतिउत्तरमा सिन मियाङ ओमा आक्रमण गरेका थियो । पछि १८८२ मा अमोरिका र कोरियाबीच ब्यापारिक सम्बन्ध कायम भयो।  तर त्यो सम्बन्ध सन् १९०५ तिर जाँदा पुनः बिग्रिएको थियो । त्यो बिग्रनुको कारण जापानले अमेरिकालाई कोरिया जापानको प्रभाव क्षेत्रभित्र पर्दछ भनेर मनाएको थियो र त्यसको ५ वर्षपछि जापानले कोरियालाई आफूमा मिलाएको थियो ।

प्रथम विश्व युद्धपछिको भर्साइको सन्धिताका कोरियाली राष्ट्रवादीहरुले अमेरिकी राष्ट्रपति विड्रो विल्सनको आत्मनिर्णयको सिद्धान्तअनुरुप कोरियाको स्वतन्त्रताको पक्षमा उभिन अमेरिकालाई अनुरोध पनि गरेका थिए जुन सफल भएन । दोस्रो विश्वयुद्धपश्चात विश्व पुँजीवाद र समाजवादी खेमामा विभक्त हुन पुग्यो जस्को कारण कोरिया पनि 38th Parallel को उत्तर र दक्षिण गरी विभाजित हुन पुग्यो । अमेरिका र सोभियत संघबीच शीतयुद्ध चुलिएको कारण यी दुई कोरियाबीच एकिकरण हुन सकेन र उनीहरु विभाजितै रहे । त्यतिखेर दक्षिण कोरियामा अमेरिकी सैनिक तैनाथ थिए भने उत्तर कोरिया सोभियत सैनिकको मातहतमा संचालित थियो । त्यसै अवस्थामा सेप्टेम्वर ९, १९४८ मा कीम इल सुङले प्रजातान्त्रित जनगणतन्त्र कोरियाको स्थापना गरे जसलाई सोभियत संघले तुरुन्तै मान्यता दियो भने अमेरिकाले मान्यता दिएन । उत्तर कोरियालाई युद्धमा परास्त गर्ने र जनरल किमइल सुंगलाई पक्री युद्ध अपराधको
मुद्दामा बन्दी बनाउने अमेरिकी जनरल डग्लस म्याकार्थरको योजना सफल नभएपछि सन १९५० को डिसेम्वरबाट नै उत्तर कोरियामाथि अमेरिकाले आर्थिक नाकाबन्दी लगायो । सन् १९६० को शुरुमा धेरै अमेरिकी जनरलहरु दक्षिणबाट भागेर उत्तर कोरिया पुगे । ती जनरलहरुलाई अमेरिकी अदालतले शत्रुलाई सहयोग गरेको मुद्दा लगाएको थियो । ती जनरलमध्ये चाल्र्स जेन्किन्स अमेरिका फर्के भने अरुको मृत्यु उत्तर कोरियामा भएको थियो । उता सन् १९६८ को जनवरी २३ का दिन उत्तर कोरियाली सैनिकहरुले एक अमेरिकी जासुसी जलपोतलाई आफ्नो नियन्त्रणमा लिए र अप्रिल २५ मा १९६९ मा जापानी समुद्रमा लगी त्यसलाई ध्वस्त बनाइदिए जस्मा ३१ अमेरिकीहरुको ज्यान गएको थियो । यस घटनालाई प्युब्लो घटना भनिन्छ ।

त्यसै गरी सन् १९७६ को अगष्ट १८ का दिन अमेरिकी क्याप्टेन आर्थर वोनिफास र लेफ्टिनेन्ट मार्क बेरेटलाई पानमुनजोमको गैरसैनिक क्षेत्रमा रुख काटिरहेको अवस्थामा उत्तर कोरियाली सैनिकहरुले मारिदिएका थिए । यस कुरालाई लिएर श्रीलंकामा भइरहेको असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किम जोङ इलको ध्यानाकर्षण गराउँदा उनले अमेरिकी सेनाले सीमा क्षेत्रमा अतिक्रमण गरेको कारण उक्त कारबाही गर्न परेको बताउँदै दक्षिण कोरियाबाट तुरुन्त अमेरिकी सेना हटाउन माग गरे । त्यतिखेर अमेरिकामा गेराल्ड फोर्ड राष्ट्रपति थिए । उनले उक्त घटनाको कारण उत्तर कोरिया विरुद्ध कुनै शक्ति प्रयोग नगर्ने निर्णय लिए । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको पालामा सन् १९९४ मा अमेरिकाले आणविक अप्रसार सन्धि विपरितउत्तर कोरियाले भित्रभित्रै आणविक बम बनाइरहेको भन्दै सो जाँच गर्न उत्तर कोरिया पठाइएको अन्तर्राष्ट्रिय निरीक्षणहरुको टोलीलाई उत्तर कोरियाले आफ्नो देशमा प्रवेश गर्न नदिएपछि पुनः उत्तर कोरिया र अमेरिकाबीच युद्ध भइहाल्न हो कि भन्ने अवस्था सिर्जना भएको थियो । तर युद्ध छेडिहाल्न भने अमेरिकाले सकेन । अमेरिकाले त्यतिखेर उत्तर कोरियाको योङब्योनमा रहेको आणविक केन्द्र ध्वस्त बनाउने योजना बनाएको थियो तर पछि पेन्टागन त्यसबाट पनि पछि हट्यो । तत्पश्चात सन् १९९४ को डिसेम्बरमा उत्तर कोरियाली क्षेत्रमा प्रवेश गरेको भन्दै उत्तर कोरियाली सैनिकहरुले अमेरिकी हेलिकप्टरलाई गोली हानेर खसालिदिए जस्मा पाइलटको मृत्यु भएको थियो भने बाँचेको अर्को एकजनालाई १३ दिन हिरासतमा राखेर छोडिदिए ।

क्लिन्टनपछि राष्ट्रपति बनेका जर्ज बुसको पालामा उत्तर कोरियाबाट स्कुड मिसाइल लिएर एमनतर्फ गइरहेको स्पेनिस पानीजहाजलाई अमेरिकी सेनाले आफ्नो कब्जामा लिई दुई दिनपछि छाडिदिएको कुरालाई उत्तर कोरियाले गैरजिम्मेवारी भन्दै त्यसलाई सामुद्रिक डाकुको संज्ञा दियो । यसले गर्दा अमेरिका–उत्तर कोरियाको सम्बन्ध झनै बिग्रियो । अमेरिकाले त्यसैताका सन् १९८९ तिर उत्तर कोरियाले हरेक वर्ष १ करोड ५० लाख अमेरिकी डलर आफ्नो देशमा छापी मकाउमा रहेको बंैकहरुलाई सो डलर स्वीकारी आफूसँग ब्यापार गर्न दबाब दिएको अभियोग लगायो जुन कुरा प्रमाणित हुन सकेन ।

सम्बन्ध सुधारका प्रयासहरु
पछि उत्तर कोरियासँग सम्बन्ध सुधार्ने प्रयास भन्दै बुस प्रशासनले द वासिंगटन टाइम्सका अध्यक्षलाई अनौपचारिक रुपमा उत्तर कोरिया पठाएका पनि थिए । त्यसैको फलस्वरुप कोरियाली प्रायद्विपलाई आणविक मुक्त क्षेत्र बनाउने भन्दै फेबु्रअरी १३, २००७ मा भएको ६ पक्षीय सहमतीले प्योङयाङसँगको सम्बन्धलाई सामान्यकरण गर्ने कार्य योजना अघि सारेको थियो । ती ६ पक्षहरुमा अमेरिका, दुई कोरिया, जापान, चीन र रसियाले भाग लिएका थिए । यस सहमतीअनुसार अमेरिका र उत्तर कोरियाबीच भएको युद्धबिरामलाई शान्ति सम्झौतामा परिणत गर्ने कुरा थियो । तर उत्तर कोरियाले भने आफूलाई आवश्यक ऊर्जाको सहयोग अमेरिकाले गर्ने भएमा मात्र योङब्योनको आणविक भट्टी बन्द गर्ने कुरा जनायो । उता अमेरिकाले भने उत्तर कोरियाले सम्बन्ध सामान्यकरण गर्न चाहन्छ भने आतंककारी राज्यको सूचीबाट उत्तर कोरियालाई हटाउन आफू तयार रहेको बतायो । यसै सम्बन्धको ढाँचालाई कार्यरुपमा परिणत गर्न मार्च १९ २००७ मा ६ सम्बद्ध राष्ट्रहरुबीच छैठौं राउण्डको छलफलको आयोजना पनि भयो । सम्बन्ध सुधार्ने प्रयासस्वरुप जून २००८ मा बुस प्रशासनले उत्तर कोरियामाथिको नाकाबन्दी हटाउने भनेपछि उत्तर कोरियाले ६० पेज लामो एक घोषणापत्र जारी गर्दै आफ्नो आणविक कार्यक्रमबारे प्रकाश पा¥यो र त्यसको लगत्तै योगब्योनको आणविक केन्द्र नष्ट गरेको भिडियो सार्वजनिक ग¥यो । यसलाई बुस प्रशासनले स्वागतयोग्य कदम भन्दै प्रशंसा पनि गरेको थियो ।

मोगादिसु मुठभेड
नोभेम्बर ४, २००७ का दिन उत्तर कोरियाली ब्यापारिक जलपोतमाथि सोमाली सामुद्रिक डाकुहरुले मोगादिसुको बन्दरगाह नजिकै आक्रमण गरे । त्यतिखेर अमेरिकी जलसेनाले त्यस क्षेत्रमा पेट्रोलिङ गरिरहेको थियो । त्यतिखेर २२ उत्तर कोरियालीहरु आठ सामुद्रिक डाकुसँग मुठभेड गरिरहेका थिए । अमेरिकी जलसेनाको कमाण्डर जेम्स विलियम्सले हेलिकोप्टर लिएर गई उत्तर कोरियाली जलपोतलाई डाकाबाट बचाइ घाइतेहरुलाई उपचार समेत गरिदिएपछि अमेरिकाको उक्त कार्यको उत्तर कोरियामा ठूलो प्रशंसा भयो र उत्तर कोरियाको सरकार फेब्रुअरी १३ को ६ पक्षीय सहमती कार्यान्वयन गर्न तत्पर देखियो । सम्बन्ध सुधार भएको आभाष दिन २००८ को फेब्रुअरीमा अमेरिकी संगीतज्ञहरुको टोली उत्तर कोरिया गई आफ्नो संगीत कार्यक्रम प्रस्तुत ग¥यो जसलाई उत्तर कोरियाली सरकारी टेलिभिजनले देशभर प्रचार गरेको थियो । सुध्रदै गएको अमेरिकी उत्तर कोरियाली सम्बन्ध दुई अमेरिकी पत्रकार एउना ली र लाउरा लिङलाई उत्तर कोरियालीहरुले मार्च १७, २००९ मा पक्रेर थुनेपछि फेरि बिग्रने लक्षण देखियो । यी दुई पत्रकारहरु चीन र उत्तर कोरियाको सीमामा समातिएका थिए । उनीहरु त्यहाँ महिलाको गैरकानुनी ओसारपसार वेचविखन सम्बन्धी डकुमेन्टरी सुटिङ गरिरहेका थिए । यिनीहरुलाई उत्तर कोरियाली अदालतमा उभ्याइयो र अदालतले उनीहरुलाई कठोर श्रमसहितको १२ वर्षे कैद सुनाएको थियो । उत्तर कोरियाको यो कार्यको अमेरिका र विश्वभर विरोध भयो । पछि अगष्ट ४, २००९ मा अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन आफै उत्तर कोरिया गई राष्ट्रपति किम जोङ इलसमक्ष उनीहरुलाई छोड्न अपिल गरेबमोजिम राष्ट्रपति किमले उनीहरुलाई सजाय माफ गरिदिए । क्लिन्टन उनीहरुलाई आफैंसँग लिएर लस एन्जेलस फर्के । उक्त भ्रमणकालमा दुवै नेता क्लिन्टन र किमले दुई देशबीचको विविध सम्बन्धको पक्षमा
कुराकानी भएको बताइएको थियो ।

सम्बन्ध झनै बिग्रियो
क्लिन्टनको भ्रमणपश्चात सुध्रने संकेत देखिएको अमेरिकी उत्तर कोरियाली सम्बन्ध दक्षिण कोरियाको पानीजहाज किओनान डुब्नुले फेरि बिग्रन गयो । अमेरिकाले उक्त जहाज डुबेको नभै टोरपेडो नामक उत्तर कोरियाली युद्ध जलपोतले डुबाएको हवाला दियो । राष्ट्रपति ओवामाको प्रशासनले यस किसिमको कार्यले बन्न लागेको शान्ति बिथोलिएको भन्दै चिन्ता व्यक्त ग¥यो । यसै विषयमा कुरा गर्ने भनी जुलाई २०१० मा राखेको बैठक उत्तर कोरियाले अनिश्चित कालसम्मको लागि स्थगित गरिदियो ।
यसको दुई वर्षपछि मार्च १६, २०१२ मा उत्तर कोरियाले आफ्ना स्वर्गीय नेता किम इल सुङको १०० औं जन्म दिवसको अवसरमा क्वाङम्योङसोङ ३ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने घोषणा ग¥यो । त्यतिखेर किम जोङ इलको मृत्यु भई उनका नौजवान छोरा किम जोङ उन उत्तर कोरियाको राष्ट्रप्रमुख भइसकेका थिए । यस भूउपग्रह प्रक्षेपणपछि उत्तर कोरियाले मिसाइल पनि प्रक्षेपण गर्ला भनी त्यसको विरोध गर्दै अमेरिकाले उत्तर कोरियालाई दिएको खाद्य सहयोग बन्द ग¥यो । उत्तर कोरियाले पनि त्यसको जवाफमा डिसेम्बर ११, २०१२ को दिन सफलतापूर्वक आफ्नो मिसाइल प्रक्षेपण ग¥यो । त्यस मिसाइल बेलेस्टिक हुन सक्ने र त्यसले अमेरिकाको पश्चिम समुद्री किनारसम्म हान्न सक्ने भन्दै अमेरिकाले त्यस प्रक्षेपणको पनि खुलेर विरोध गर्यो । त्यसको लगत्तै मार्च २९, २०१३ मा मार्सल किम जोङ उनले प्रशान्त क्षेत्रमा रहेको अमेरिकी सैनिक अखडामा रकेट आक्रमण गर्ने भन्दै अमेरिकालाई चेतावनी दिए । यस चेतावनीलाई गम्भीर रुपले लिँदै अमेरिकाको रक्षा विभाग पेन्टागनले पश्चिमी प्रशान्त क्षेत्रमा अति नै अग्रगामी मिसाइल सुरक्षा प्रणाली जडान गरी उत्तर कोरियाको आक्रमणलाई निस्तेज बनाउने जनायो । अमेरिकाले उत्तर कोरियाको यो धम्की अमेरिकालाई मात्र नभै जापान र दक्षिण कोरिया समेतलाई भएको जनायो र त्यसको लगत्तै प्रशान्त क्षेत्रमा रहेको अमेरिकी सैनिक अखडा गुआममा अमेरिकाले यस्तो मिसाइल प्रतिरोधात्मक यन्त्र जडान पनि ग¥यो । यसै क्रममा अमेरिकी परराष्ट्र मन्त्री जोन केरीले अप्रिल १२, २०१३ मा सोलको भ्रमण गरी उनले
उत्तर कोरियालाई आणविक शक्ति कुनै हालतमा पनि मान्न नसकिने बताए । उत्तर कोरियाले पनि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी र प्रशान्त महासागर क्षेत्रमा भइरहेको अमेरिका र दक्षिण कोरियाली संयुक्त सैनिक अभ्यास
बन्द नभएसम्म उसले अमेरिकासँग कहिँ पनि वार्ता नगर्ने जनायो । सम्बन्ध बिगँ्रदै जाँदा अप्रिल २६, २०१३ मा उत्तर कोरियाले आफ्नो देशविरुद्ध षड्यन्त्र गरेको भन्दै एक अमेरिकी नागरिक केनेथ बेलाई पक्रेर १५ वर्षको कडा श्रमसहितको सजाय सुनायो ।
अमेरिकाले उनलाई छोड्न गरेको आग्रहलाई उत्तर कोरियाले लत्याइदियो ।

त्यस्तै अपराध भनी जून २०१४ मा उत्तर कोरियाले फेरि दुई अमेरिकी नागरिकलाई पक्र्यो । त्यसको लगत्तै अमेरिकी लोकसभाले उत्तर कोरियामाथि अझै कडा आर्थिक नाकाबन्दी लगाउने भन्दै नयाँ विधेयक पारित ग¥यो जसलाई अमेरिकी माथिल्लो सदन सिनेटले पास गरेन । यता प्रशान्त महासागर क्षेत्रमा अमेरिका दक्षिण कोरिया संयुक्त सैनिक अभ्यासले निरन्तरता पाइरह्यो र राष्ट्रपति बाराक ओबामाले कुनै पनि बेला उत्तर कोरिया पतन हुने कुरामा आफू विश्वस्त भएको जनाए । त्यस भनाइको प्रतिक्रियास्वरुप अमेरिकासँगको सम्बन्धका ज्ञाता मानिएका एक उत्तर कोरियाली कुटनीतिज्ञले अमेरिकाले उत्तर कोरियामाथि नाकाबन्दी मात्रै नलगाई युद्ध घोषणा गर्न
लागेको भन्दै मार्सल किमजोङ उनलाई तारो बनाएको खुलासा गरे । यता अप्रिल ७, २०१७ का दिन अमेरिकाले सिरियाको सेरातमा मिसाइल आक्रमण गरेपछि उत्तर कोरियामाथि पनि ट्रम्प प्रशासनले यस्तै आक्रमण गर्ने भन्ने हल्ला बाहिर आयो । विश्वभरका मिडियाहरुले उत्तर कोरियामाथि आक्रमण गर्ने भन्दै अमेरिकाले जापानको समुद्रमा कार्ल भेन्सन सुपर क्यारियर नामक हवाइ युद्धपोत राखेको हवाला दियो । तर यथार्थमा त्यो यन्त्र अमेरिका र अष्ट्रेलियाको संयुक्त सैनिक अभ्यासको लागि गरिएको र उत्तर कोरियाबाट ३५ हजार माइल टाढा हिन्द महासागरमा थियो भन्ने कुरा पछि गएर मात्रै खुल्यो । यस हवाई युद्धपोतले दक्षिण चिनिया सागरमा नियमित रुपमा निगरानी राख्न थाल्यो र जुलाई २०१७ मा अमेरिकी विदेश विभागले कोही पनि अमेरिकीलाई उत्तर कोरिया जान निषेध ग¥यो । तर त्योभन्दा पहिले नै उत्तर कोरिया छोड्न लागेका एक अमेरिकी नागरिक टोनी किम प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका थिए जस्लाई कोरियाली अदालतले १५ वर्ष कठोर श्रमसहितको जेल सजाय तोकेको थियो । पछि जुन २०१७ मा बेहोसी अवस्थामा यिनलाई जेल मुक्त गरिएको थियो र अमेरिका पुगेको केही दिनपछि नै यिनको मृत्यु भएको थियो । उनको मृत्युमा आफ्नो कुनै हात नभएको उत्तर कोरियाले जनाए तापनि अमेरिकाले उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी झनै कठोर बनायो । त्यसैबीच वासिंगटन पोस्टले उत्तर कोरियाले सजिलै अमेरिकाको मुख्य भूमिसम्म पुग्न सक्ने आणविक युद्धपोतको सफलतासाथ विकास गरेको समाचार प्रक्षेपण ग¥यो । त्यसको लगत्तै राष्ट्रपति ट्रम्पले विश्वले कहिले नदेखेको विनाश अब उत्तर कोरियालीहरुले देख्दैछन् भनी उत्तर कोरियालाई चेतावनी दिए । उत्तर कोरियाले पनि त्यसलाई चुनौति दिँदै गुआम लगायत प्रशान्त क्षेत्रमा रहेको अमेरिकी सैनिक अखडाहरुमा निगरानी राख्ने जनाउ दिँदै जापानको आकाशमाथि दुई मिसाइल प्रक्षेपण गरी आणविक परीक्षण समेत ग¥यो । राष्ट्रपति ट्रम्पले अब उत्तर कोरियालाई पूर्णरुपमा ध्वस्त गरी आफ्ना सहयोगी देशहरुको रक्षा गर्नुबाहेक अरु विकल्प नभएको कुरा सेप्टेम्वर २०१७ मा संयुक्त राष्ट्र संघको महासभालाई सम्वोधन गर्दै बताए । त्यसको लगत्तै सेप्टेम्वर २३ तारिखका दिन अमेरिकी बम्बर र इगल फाइटर नामक अमेरिकी हवाई युद्धपोत उत्तर कोरियाको पूर्वी आकाश उड्न थाल्यो । उत्तर कोरियाले तिनलाई मिसाइल आक्रमण गरी खसाल्ने बताए तापनि आक्रमण चाहिँ गरिहालेन । उत्तर कोरियाली नेता किम जोङ उनले ट्रम्पको भनाइलाई पागलपन बताउँदै अमेरिकाको सबै किसिमका आक्रमणलाई परास्त गर्ने बताए । त्यस्को लगत्तै नोभेम्बर २८, २०१७ मा उत्तर कोरियाले सायन नदीबाट अन्तरमहाद्विपीय बेलेस्टिक मिसाइल प्रक्षेपण गरी जापानी समुन्द्रमा लगेर ओरालेपछि अब दुवै पक्ष वार्ता गर्नैपर्ने कुरामा विश्वस्त हुन पुगे ।

शिखर वार्ता
मे २०१८ भित्रै ट्रम्प किम शिखर वार्ता गराउने कुरा चले तापनि जुन १२ वार्ता गर्ने दिन तोकियो । यसलाई दक्षिण कोरियाली राष्ट्रपतिले आठौं आश्चर्यको संज्ञा दिए । मार्सल किमले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक अभ्यास बन्द नगरुञ्जेल त्यस्तो वार्तामा आफू नबस्ने बताएपछि ट्रम्पले पनि मे २४ तारिखका दिन वार्ता नहुने ठोकुवा गरे । तर दुवै नेताले भने जस्तो भएन । दुई शत्रु पक्षबीच सिंगापुर पहिले भनेकै जुन १२ को मितिमा सिंगापुरमा वार्ता भई दुई देशबीच ऐतिहासिक सम्झौता भयो ।
सम्झौताअनुसार उत्तर कोरियाले उत्तर र दक्षिण कोरियाबीच केही महिना अगाडि भएको पानमुनजोम घोषणा कार्यान्वयन गर्ने आफ्नो प्रतिबद्धता जनायो र युद्धबन्दीहरु साटासाट र भविष्यमा सम्बन्धहरुलाई अझ दरिलो बनाउन दुवै पक्ष सहमत भए । उत्तर कोरियाको सरकारी रेडियो तथा टेलिभिजनहरुले शिखर वार्तापछि शान्तिको नयाँ युग सुरु भएको समाचार प्रसार गरेपछि उत्तर कोरियामा टाँसिएका अमेरिका विरोधी नाराहरु निकालियो । यद्यपि जुन २४ तारिखका दिन राष्ट्रपति ट्रम्पले शिखर वार्ता र सहमतिको बाबजुद पनि उत्तर कोरिया अझै त्रासको कारक तत्व भएको भन्दै नाकाबन्दी कायमै राख्ने बताएका छन् ।

(लेखक ढकाल नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति २०७५–५–१०

 

फेसबुकबाट तपाईको प्रतिक्रिया