गनाउँदै छ गणतन्त्र सिनो भएर

सुरेन्द्र ढकाल

प्रजातन्त्र भनेको सादगी, सक्षमता, मितब्ययिता अनि पारदर्शिताको संयुक्त अभिव्यक्ति हो । नेताहरु सादगी भएनन् भने प्रजातन्त्र सामन्तवादमा परिणत हुन्छ । नेताहरु सक्षम भएनन् भने विकास योजना कहिले सम्पन्न नहुने गरी अलपत्र पर्छ । नेताहरु मितव्ययी भएनन भने विकासको लागि पँुजी हुँदैन अनि नेताहरु पारदर्शी भएनन् भने भ्रष्टाचारले देश खान्छ ।
संघीयता, एकात्मकता, बहुलवाद, समाजवाद अन्य जुनसुकै वाद भने पनि त्यो देश संचालन गर्ने साधनमात्र हो, साध्य होइन । अमेरिका लगायत विभिन्न राष्ट्रहरुले बहुलवादबाट आफूलाई समृद्ध बनाए भने चीनले समाजवादको नयाँ प्रयोगबाट अमेरिकी विकाशलाई उछिन्दै छ । साध्य भनेको जनता र राष्ट्रको मुहारमा परिवर्तन आउनु हो नेता र कर्मचारीकोमा होइन, देश समृद्ध हुनु हो, त्यो हुँदा सबै देशवासीको समृद्धि हुन्छ ।

भनिन्छ ऊ मन्दिर पनि जान्छ, मस्जिद पनि जान्छ, गिर्जाघर पनि जान्छ उसको कुनै धर्म छैन किनकी ऊ जुत्ता चोर हो । त्यसलै होला नेपालमा झण्डै प्रत्येक दुई तीन दशकमा क्रान्ति हुने गर्छन, ब्यवस्था ढल्ने गर्छन् तर पुरानो सामन्त र धनाढ्य कायम रहन्छन् अनि नयाँ सामन्त र नव-सम्भ्रान्त जन्मिन्छन् र थपिदै जान्छन् । माथि भनिए जस्तै जुत्ताचोरहरुको बिगबिगी हुन्छ अनि जनता र देश रसातलतर्फ लागेको लागै हुन्छ । हिजोका ज्ञानेन्द्र आज पनि छन् तर आजकी विद्याले सुख सयलमा उनलाई पछाडि पारिन् । उनलाई दरबारभित्र हेलिप्याड र दरबारबाहिर हिँड्न १८ करोडको गाडी चाहिएको छ । यो प्रवृत्ति क्रमशः संघीय संसदको सभामुख उपसभामुख, संसदीय समीतिका सभापति, प्रदेश सरकार र सांसद अनि स्थानीयसरकारका मेयर, उपमेयर हुँदै वडासम्म पुग्ने संकेत स्पष्टै देखिएको छ । हिजोको गिरिजाले धमिजा काण्ड मच्चायो आजको ओलीले वाइड बडी काण्ड मच्चाउँदै छ । ४६ सालमै मेलम्चीको पानी ल्याएर काठमाण्डौ पखाल्ने कृष्णप्रसादपछि नेपालमा धेरै कृष्ण प्रसादहरु प्रधानमन्त्री भए तर आज पनि मेलम्ची मेलम्चीमै छ । चप्पल लगाएर काठमाण्डौ छिरेका नेताहरुको भने महल, गाडी, बकैं ब्यालन्ेसले राजा रजाटौहरुको शान सौकतलाई पछि पार्न थालिसकेको छ ।

संघीयतासँगै सिंहदरबार वडा वडामा पुगेको छ । यसैले जनता माथि कर लगाउने कुरामा मनमानी र प्रतिष्पर्धा दुवै हुँदैछ । करबाट उठेको यस्ता पैसा विकास र समृद्धिभन्दा पनि निर्वाचित प्रतिनिधिहरुको तलवभत्ता, सरसुविधा, गाडी मोटरसाइकल खरिदमा धमाधम खर्च हुन थालेका छन् । यी सबै
करको रुप गणतन्त्रको लागि सडक तताउने जनताको थाप्लोमा बज्रन गएपछि गणतन्त्र र संघीयता खास कस्तो हुँदो रहेछ भनेर जनता आफै विस्तारै थाहा पाउदँै छन् ।

नेपालमा रहेका एक करोड भारतीयहरुलाई नागरिकता दिने विधेयकमा लालमोहर नलगाएकै कारण राजा वीरेन्द्रको वंश विनाश भयो । त्यही कुरा नमानेको कारण र चीनलाई सार्कमा ल्याउने अनि काठमाण्डौको लाजिम्पाटमा भएको दलाई लामाको सम्पर्क कार्यालय बन्द गर्दा भारत रिसाई माओवादीलगायत सबै आन्दोलित दलका नेताहरुलाई दिल्ली बोलाई दोस्रो दिल्ली सम्झौता गराई ज्ञानेन्द्रलाई गद्यीच्युत ग¥यो । वीरेन्द्र अनि ज्ञानेन्द्रले नेपालको परराष्ट्र र रक्षा भारतलाई सुम्पेर भुटानको जिग्मेको हैसियतमा बस्न चाहेको भए अहिलेका चप्पले नेताहरु यतिखेर भारत र नेपालको जेलमा सडिरहेका हुन्थे होला ।

गणतन्त्र आइसकेपछि नेपाली राजनीतिमा शतप्रतिशत भारतीय प्रभाव जम्यो । नेपाल भारतको पोल्टामा पुग्दा तिब्बत नेपाली भूमिबाट स्वतन्त्र हुनेदेखि चीनले आफ्नो दक्षिण एसिया राजनीतिलाई सक्रिय बनाएकै कारण हौसिएका केपी ओलीले आफ्नो मनले मान्दा नमान्दै पनि आर्थिक नाकावन्दीको विरोध गरे, चीनले त्यसलाई डटेर समर्थन गर्दा भारतको सातोपुत्लो उड्यो । त्यही नाकावन्दीको ह्याङओभरमा नेपालले चीनको विआरआई परियोजना सामेल भई चीनसंग ब्यापार पारवहन सम्झौता गरेपछि नेपाल चीनको पोल्टामा गयो भन्दै भारतीय विपक्षीहरुले भारतीय प्रधानमन्त्री मोदीको नेपाल नीति असफल भएको धुवाँधार प्रचार गरी आगामी लोकसभाको निर्वाचनमा मोदी र उनको भारतीय जनता पार्टीलाई हराउने रणनीति अख्तियार गर्दैछन । अनि मोदी चाहि अब नेपालमा राजसंस्थालाई पुनःस्थापना गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउने खिचडी पकाउन शुरु गर्दै छन् । यसो गर्दा हिन्दुत्वको नाममा पुनः चुनाव जित्न पनि पाइने, हिन्दुत्वकै नाममा नेपालमा राजसंस्था पुनःस्थापना गर्न पाए त्यसैलाई हतियार बनाएर चीनको नेपालमा रहेको प्रभावलाई शून्यतर्फ झार्न सकिने तर्कसहित अगामी भारतीय गणतन्त्र दिवसमा ज्ञानेन्द्रलाई नेपालको राजाको रुपमा प्रमुख अतिथि बनाउने योजनाहरु धमाधम तर्जुमा हुन थालेका छन् भन्ने हल्ला ब्याप्त छ । भारतमा पाक्न थालेको यो खिचडीको कारण तथाकथित बामपन्थीहरुको दुईतिहाईको सरकारविरुद्ध एकातर्फ ज्ञानेन्द्र, प्रकाशमान अनि शेखर कोइरालाहरु एक जुट हुँदैछन् भने अर्कोतर्फ हिजोको गणतन्त्र पक्षधर पशुपति
शमशेर अनि प्रकाशचन्द्र लोहनीहरु कमल थापासँग चोसोमोसो जोड्दै पुनः राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डामा फर्कन खोज्नुले कतै भारतीय खिचडी पाकी राजतन्त्र र हिन्दु राज्य पुनःस्थापना हुने त होइन? गणतन्त्र र संघीयता कस्तो हुँदो रहेछ भनेर देखिहालियो भनेर नेपाली जनताहरु त्यतै नलाग्न बेर छैन । १७ सालको परिवर्तनलाई पनि नेपाली जनताले दिपावली गरेर हर्षोल्लास साथ मनाएको देख्नेहरु इतिहास दोहोरिन बेर लाग्दैन भन्दैछन ।

यस्तो परिस्थिति साँचो गणतन्त्र, भ्रष्टाचार मुक्त देश, समृद्ध र अखण्ड अनि पूर्ण विकेन्द्रित एकात्मक नेपाल चाहने राष्ट्रवादी, प्रगतिशिल र प्रजातान्त्रिक शक्तिहरु एक हुनुपर्छ भनी लाग्नुपर्ने हो । तर मोहनविक्रम अनि चित्रबहादुर एकातर्फ, मोहन वैद्य र विप्लवहरु अर्कोतर्फ अनि नारायणमान बिजुक्छे झन् अर्कोतर्फ देख्दा यिनीहरु पनि रमिते सावित भएका र भोलि सत्तामा आए भने यिनीहरु पनि पंच, कांगेस्र , एमाले, माओवादी भन्दा फरक नहुने नेपाली जनताको ठम्याइ रहेको छ भन्छन राजनीतिक पर्यवेक्षकहरु । यसको परिणति के हुने हो, देश रहला नरहला भनेर ठोकेर भन्ने अवस्था कसैको पनि रहेको देखिदैन तर जस्ले जे भने पनि एउटा कुरा चाहि सत्य हो, त्यो के हो भने नेपालको गणतन्त्र र संघीयता दुई वर्ष पुग्दा नपुग्दै गनाउँदै छ सिनो जस्तो भएर ।

(लेखक ढकाल नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति २०७५–८–९

 

फेसबुकबाट तपाईको प्रतिक्रिया