गहुँको बीउ उपलब्ध हुन नसक्दा किसान मारमा

काठमाडौँ १९ मंसिर

वीरगञ्ज-प्रदेश नं २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन् । प्रदेश नं २ को सरकारले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ८४ मेट्रिक टन गहुँको बीउ वितरण भएर सकिएकाले हाल बीउ उपलब्ध हुन नसक्दा किसान मारमा परेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ।

पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा किसानले गहुँ खेती गर्दै आइरहेको र यसको लागि ८४ मेट्रिक टन बीउ मात्र उपलब्ध भएको थियो । उक्त बीउ वितरण भइसकेको छ । केन्द्रका प्रमुख डा यादवले राससलाई भने, “पर्साको लागि अब तीन हजार मेट्रिक टन बीउको आवश्यकता रहेकाले बाँकी बीउ चाँडै आउने सम्भावना छ ।” प्रदेश नं २ को सरकारको निर्णयअनुसार किसानलाई ४० प्रतिशत अनुदानमा सात वटा डिलरमार्फत बीउ वितरण गरेको छ । डिलरले बीउमा कालोबजारी नगरोस् भनेर कृषि प्राविधिकको रोहबरमा बीउ वितरण गरिएको छ ।
प्रतिकिलो ६५ रुपैयाँ ५० पैसा पर्ने बीउमा ४० प्रतिशत अनुदान दिएर किसानलाई प्रतिकिलो ४३ रुपैयाँ ५५ पैसामा वितरण गरिएको छ । केन्द्रको सिफारिशमा डिलरले राष्ट्रिय बीउबिजन कम्पनी हेटौँडाबाट उन्नत जातको बीउ ल्याएर वितरण गर्ने गरेको छ ।

किसानको सुविधालाई ध्यानमा राखी केन्द्रले सदरमुकाम वीरगञ्जको तीन ठाउँ र ग्रामीण क्षेत्रका पोखरीया, महुवन, सेढवा र बिरुवागुठीमा डिलरमार्फत सो बीउ वितरण गर्दै आइरहेको छ। हाल अनुदानको गहुँको बीउ अभाव भएपछि गहुँ खेती गर्ने किसानले बजारमा पाइने बीउ खरीद गरी खेती गर्न बाध्य भएका छन्।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया