निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु उपयुक्त होला ?

सुरेन्द्र ढकाल
नेपाल जैविक तथा जलवायु विविधताका लागिविश्व प्रख्यात छ । होचो भाग तराई केचनाकवल देखि हिमालसम्म पुग्दा नेपालमा संसारकै जलवायु, प्राणी अनि वनस्पती केवल १ लाख ४७ हजार वर्गमिटर भित्र पाइन्छ । संसारका चाहे वन्यजन्तु भनौं चाहे चराचुरुंगी अनि पुतली कही एकै देशमा पाइन्छ भने त्यो नेपाल मात्रै हो । ट्रेकिङ गर्ने नाममा विश्वका लाखौ पर्यटकहरु नेपाल आउने कारण पनि यही कारण हो ।
अनि यही पर्यटन नेपालको रेमिट्यान्सपछिको दोस्रो विदेशी मुद्राको स्रोत हुन सकेको हो । पर्यटन क्षेत्रले नेपालमा लाखौंको रोजगारी सिर्जना गरेको पनि छ । त्यसकारण नेपालमा पर्यटकीय पूर्वाधारको विकास गर्ने नाममा यहाँको जलवायु र जैविक विविधता नास गर्ने हो भने नेपाल आउने पर्यंटकहरुको संख्या बढ्नुका साटो घट्न जान्छ भने सुन्दर नेपाल कथनीमात्रै सीमित हुनसक्छ ।

सन्दर्भ निजगढमा नेपालको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्ने कुराको हो । कुनै सर्वेक्षण र डिपिआरविना नै विमानस्थल बनाउने नाममा सरकारले प्रस्तावित विमानस्थल र त्यसको वरपरको रुखहरु ढाल्ने योजना बनाएको छ, जुन ज्यादै निन्दनीय छ । वातावरणविद, विकासकर्मी र सचेत नेपाली जनताले सरकारको यस्तो योजनाको खुला रुपमा विरोध गर्न थालिसकेका छन् भने सरकारले रुख ढाल्ने योजना विना गतिलो गृहकार्य अगाडि बढाएमा यसको विपक्षमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा नै सरकारको विरुद्ध अभियान संचालन हुने लक्षण देखिएको छ । राष्ट्रिय गौरवको नाममा कुनै पनि योजना अगाडि बढाउँदा यसको वातावरणीय प्रभाव, जैविक तथा जलवायु विविधतामा यसले पार्ने असर, योजनाका कारण योजना क्षेत्रमा रहेका मानिस र वन्यजन्तु जीवनमा पर्नसक्ने खतराको मूल्यांकन गरेर मात्र यस्ता योजनाहरु अगाडि बढाउनु पर्दछ भन्ने आवाजलाई सरकारले कम आँकलन गर्नु हुँदैन । प्रस्तावित विमानस्थल निर्माण गरिने स्थल नेपालका पर्सा वन्यजन्तु आरक्षणको नजिकै पर्दछ ।

अति नै जैविक विविधताको धनी यो क्षेत्रमा बाघ, हात्तीलगायत विभिन्न दुर्लभ वन्यजन्तुको वासस्थान रही आएको छ । नेपालको तराईको वनजंगललाई हिमाली वनजंगलसँग जोड्ने मध्यवर्ती वन पनि यसै क्षेत्रमा पर्दछ जसको कारण यो वन्यजन्तुको जैविक मार्गको रुपमा पनि रहिआएको छ । विमानस्थल निर्माण गर्दा यस पक्षको गहिरो संवेदनशील विश्लेषण हुन जरुरी छ । यस्तो विश्लेषण र डिपिआरविना नै जंगल सखाप पार्न खोज्नु प्राकृतिक वातावरणमाथिको ठूलो अन्याय हुन गई वातावरणीय परिवर्तनको कारण देश नै मरुभूमि परिणत नहोला भन्न सकिन्न ।

झण्डै ८१०० हेक्टर जमिनमा फैलिने निजगढ विमानस्थल निर्माण गर्दा २४ लाख रुखहरु ढल्ने छन् । परियोजनाको प्रारम्भिक वातावरणीय तथा सामाजिक असर मूल्यांकन प्रतिवेदन अनुसार पहिलो चरणमा नै ७ लाख ७० हजार रुखहरु ढल्ने देखिएको छ । काठमाण्डौबाट १७५ किलो मिटरको दूरी रहेको भनिएको यो प्रस्तावित विमानस्थल क्षेत्रमा ९० प्रतिशत प्राकृतिक साल र साखुवा जातका रुखहरु रहेको घनाजंगल छ । यी रुखहरुबाट निस्कने काठको अहिलेको बजार मूल्यमात्रै ६५ अरब रुपैयाँभन्दा माथि रहेको छ । तसर्थ पहिले योजनाको गहिरो वातावरणीय र सामाजिक मूल्यांकन गरेर मात्रै डिपिआर बनाउनु पर्दछ भन्ने प्राकृतिक स्रोत विज्ञहरुको भनाइ रहेको छ तर गहिरो र संवेदनशील अध्ययन प्रतिवेदनविना नै रुख ढाल्ने सरकारको योजना भने मौजुदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको विशेषज्ञहरु बताउँछन् ।

प्रस्तावित विमानस्थल क्षेत्रको रुख ढाल्ने निर्णय संघीय सरकारका वन तथा वातावरण मन्त्रालय र सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट संयुक्त रुपमा भइसकेको थाहा हुन आएको छ । यस्तो निर्णय गर्दा सरकारी पक्षले हरेक ढालिएको एक रुखको सट्टा २५ वटा गरी ६ करोड २० लाख नयाँ बिरुवा रोप्ने प्रतिबद्धता जाहेर गरेको सन्दर्भ खोतल्दै वन विशेषज्ञहरु यस्तो कृत्रिम जंगलले प्राकृतिक जंगलले जस्तो वातावरणीय प्रणाली सन्तुलन गर्न नसक्ने बताउँदै सरकारलाई आफ्नो निर्णय फिर्ता लिन र परियोजनास्थल प्रस्तावित स्थलभन्दा केही किलोमिटर पूर्वतर्फ सार्न आग्रह गरेका छन् । अर्कोतर्फ वन्यजन्तु विज्ञहरु रुख ढाल्दाढाल्दै वन्यजन्तु र चराचुरुंगीको वासस्थान नास भई उनीहरु तितरबितर भइ लोप हुने हुँदा नयाँ रोपिने रुखहरुले उनीहरुलाई वासस्थान तुरुन्तै दिन नसक्ने कारण पर्यावरणमा अपुरणीय क्षति हुने बताउँछन् । यी सब तथ्यहरुको बाबजुद सरकार एकतर्फी रुपमा प्रस्तावित विमानस्थलको निर्माणस्थल कुनै हालतमा पनि सार्न नसकिने बताउनुले नेपाल ठूलो वातावरणीय दुघर्टनामा पर्ने र जस्को कारण नेपाल विश्वको १० मध्ये एक पर्यटकीय गन्तब्यको रुपमा चित्रित छ, त्यो नहुने वातावरणविद तथा वन्य जन्तुविद् बताउँछन ।

(लेखक ढकाल नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति २०७५–६–१३

फेसबुकबाट तपाईको प्रतिक्रिया