फस्टाएको बैकिङ क्षेत्र र व्यवस्थापकहरु

रिसव गौतम

बिं सं १९९४ मा नेपाल बैकको स्थापनासंगै नेपालमा बैकिङ क्षेत्रको विकास एवं विस्तार सुरु भएको हो । झण्डै एक शताब्दी नजिकको यस पेरिफेरीमा नेपालमा बैकिङ क्षेत्रले निकै छलाङ मारेको देखिन्छ । बैकिङ क्षेत्रले मारेको अग्रगामी छलाङसँगै नेपालमा नीजि क्षेत्रले पनि आफुलाइ अघाडी बढाएको छ ।


अहिले नेपालमा २८ ओटा वाणिज्य बैकहरु छन् । झण्डै ३ दर्जन विकास बैकहरु छन् । त्यसमध्ये सरकारी क्षेत्रको बैकहरुमा कृषि विकास बैक, राष्टिय वाणिज्य बैक र नेपाल बैक मात्रै छन् । बाँकी सबै नीजि क्षेत्रले हाँकेका बैकहरु हुन् । यी सबै बैकहरुलाई नियमन तथा नियन्त्रण गर्ने कार्यमा नेपाल राष्ट्र बैक अब्बल नै देखिएको छ । मुलत नेपाल सरकार माताहातको सबैभन्दा सक्षम र प्रभावकारी देखिएको संस्था नेपाल राष्ट्र बैक नै होला । सरकारका सबै खालका संस्थाहरु कुनै न कुनै रुपमा भष्टाचार एवं अनुशासनहीनताले जकडिएको छ ।
खासगरी सरकारी बैकहरुको असफलता एवं ढिलासुस्तीकै कारण नीजि क्षेत्रका बैकहरु अगाडी आएका हुन् । तर सरकारले हर तरहले सरकारी बैकहरुको संरक्षण गरिरहेको देखिन्छ । चाहे त्यो सरकारी कर्मचारीहरुको बैक खाता सरकारी बैकमै खोल्न लगाएर होस् वा सरकारी संघ सस्थाहरुको कारोवार सरकारी बैकहरुसँग अनिवार्य रुपमा लगाएर होस् सरकारी बैकहरु टिकाएकै छ । लगाम लगाएरै किन नहोस् ।
वास्तम्बमा नीजि क्षेत्रका बैकहरु अब्बल सावित हुनुमा ती बैकका ब्यवस्थापकहरु, कर्मचारीहरु र तीनका सिस्टम सबै जिम्मेवार छन् । त्यसमा पनि बैकका सिइओहरुको कुशल ब्यवस्थापकीय नेतृत्व नै नीजि क्षेत्रका बैकहरुको सफलताको मानक बनिरहेको देखिन्छ । तर पनि सिइओहरुको तलब, भत्ता र सुबिधाहरुको सवालमा बेलाखत अनेकन विरोधहरु आइरहेका देखिन्छन् ।
वास्तम्बमै नेपालको बैकिङ अन्र्तराष्ट्रिय मापदण्डको छ । सबै खालको प्रविधि र सुविधाहरु दिन नेपालका बैकहरुबीच यतिवेला प्रतिस्पर्धा नै भइरहेको देखिन्छ । यदी नेपाल सरकारका मन्त्रालय वा विभागहरुले बैकहरुको काम गर्ने शैली, तौर तरिका, अनुशासन र व्यवस्थापकीय कौशलता अनुशरण गर्ने हो भने विकास टाढाको विषय नहोला ।
नेपाल राष्ट बैकको आँकडा अनुसार आर्थिक बर्ष २०७४–७५ सम्ममा अहिले नेपालमा बैक तथा फाइनान्सहरुको शाखा ४२ सय नाघिसकेको छ । यधपी नेपाल राष्ट्र बैकले निर्देशन गरेको ७ सय ५३ स्थानीय तहमै बैकहरु पुगिसकेका छैनन् । अझै ८० स्थानीय तहमा बैकहरुको शाखा पुग्न बाँकी छ । तर पनि बैकिङ क्षेत्रले स्थापनाको यस दौरानमा गरेको यो प्रगतीलाई कमजोर मान्न सकिदैन । किनकी नेपालका अन्य क्षेत्रहरुले बैकिङ क्षेत्रले जस्तो छलाङ मार्न सकिरहेको देखिदैन ।
ब्यवस्थापनको महत्व 
आजको युगमा व्यवस्थापकीय कौशल्ताको अधिक महत्व छ । एउटा घर, एउटा बैंक वा सिङ्गो राष्ट्र नै किन नहोस् कुशल व्यवस्थापन विना त्यसले सत्मार्ग लिन सक्दैन । आजको नेपाल बिकास र प्रगतीमा सोचे जसरी अघि नबढ्नुमा नेतृत्वमा व्यवस्थापकीय क्षमता नहुनुले नै हो । खासगरी अवधारणागत सीप, मानवीय सीप र प्राविधिक सीपले एउटा व्यवस्थापक सफल हुन सक्दछ । नेपालका नीजि क्षेत्रका बैकरहरुले आफना बैकहरुलाई फलाउन फुलाउन सक्नु, जनताको विश्वास जित्न सक्नु उनीहरुमा भएका तिनै सिपहरुको महत्वपूर्ण देन हो ।
तर राजीनिति र राज्य संचालनमा रहेका, व्युरोकेसीमा रहेकाहरुको सैद्धान्तिक ज्ञान त अलि अलि देखिन्छन् तर प्राविधिक र मानवीय सिप फिटिक्कै देखिदैनन् । अत्यन्तै अव्यवहारिक, कमजोर शैक्षिक धरातल र अहम भावले नै गर्दा मुलुकको नेतृत्व गर्नेहरु बिफल भएका देखिन्छन् । तर नेपालको बैकिङ क्षेत्रकै कुरा गर्दा त्यहाँ काम गर्ने समय निश्चित छ । कामको बाँडफाँड निश्चित छ । अधिकारको बाँडफाँड निश्चित छ । माथिल्लो नेतृत्व प्रति सबैको विश्वास छ ।र, माथिल्लो नेतृत्वले दुरदर्शी सोच राख्छ । दैनिक रुपमा आफनो क्षेत्र र विषयसँग सम्बन्धित समाचार र नविन विचार प्रति उ चासो राख्छ । फलत त्यस्ता व्यवस्थापकहरुले विश्वव्यापी मापदण्डमा आफनो संस्थाहरुलाई उभ्याउन सकिरहेका छन् ।
एउटा व्यवस्थापकले विगत, वत्र्तमान र भविष्य स्पष्ट हेर्न सक्नु उसको अवधारणागत सिप हो । उसमा दुरदृष्टि, लक्ष्य उदेश्य, योजना तय गर्न सक्ने क्षमता, वातावरणीय सुक्ष्म अध्ययन गर्न सक्ने क्षमता र सुचनाहरुको सही विश्लेषण गर्ने क्षमता हुनुु पर्दछ । त्यस्तो व्यक्ति मात्र कुनै पनि संस्थाको उच्च व्यवस्थापक वा सिइओ हुनसक्छ ।
त्यसैगरी मानिसहरुसँग मिलेर काम गर्न सक्ने, सहयोग आदान प्रदान गर्न सक्ने, उत्प्रेरणा प्रदान गर्न सक्ने, सञ्चार गर्न सक्ने, नेतृत्व प्रदान गर्न सक्ने, अनुशासन र द्धन्द व्यवस्थापन गर्न सक्ने क्षमता व्यवस्थापकको मानवीय सिप हो ।
त्यसैगरी कर्मचारी कामदारहरुलाई राम्रोसँग काम सिकाउन व्यवस्थापकमा कार्य बारे राम्रो दक्षता हुन जरुरी हुन्छ । व्यवस्थापकमा हुने कार्य दक्षता प्राविधिक सिप हो । यी तिनै प्रकारको सिप भएर नै नेपालका बैकरहरु आफनो संस्थालाई प्रगतिपथमा डोत्याउन सफल छन् ।
यधपी नेपालको बैकिङ क्षेत्र थुप्रै चुनौतीहरु माझ पनि छ । नेपालको बैकिङ क्षेत्रका व्यवस्थापकहरुले खासगरी विश्वव्यापिकरण, परिवर्तनशिल प्रविधि, गुणस्तर व्यवस्थापन, सामाजिक उत्तरदायित्व, सशक्तिकरण र मानव संसाधन व्यवस्थानको चुनौतीहरु छन् । यस्ता चुनौतीहरु पनि सामना गर्न सक्ने ब्यवस्थापकहरु नेपालको बैकिङ इन्डष्ट्रीमा छन् ।
त्यसकारण नेपालको बैकिङ क्षेत्र अग्रगतीमा छ । पछिल्लो समय नेपालको राज्य संरचना फेरिएसँगै बैकहरु गाँउ गाउँ पुग्दैछन् । बदलिएको संघीय राज्य संरचना बैकहरुको लागि अवसर झै भएको छ । किनकी विगतमा नेपालमा द्धन्दको अवस्था थियो । स्थानिय तहको निर्वाचन हुन नसकि स्थानीय तह विकलागं झै भएको थियो । तर अहिले गाउँ गाउँमा सरकार पुगेको छ । ७ ओटै प्रदेशले सक्रिए रुपमा काम थालेका छन् । जसले गर्दा देशैभर सुरक्षा व्यवस्था सुदृढ हुदैछ । स्थानिय सरकारहरुको सक्रियतासँगै आर्थिक गतिबिधिहरु पनि बढ्दैछन् । गाउँबाट शहर पसेका मानिसहरु अवसरको स्थान्तरणसँगै गाउँ नै पस्न थालेका छन् । जसले गर्दा बैकहरुलाई काम गर्न, बजार बनाउन एउटा अवसर नै भएको छ । दुरदर्शी नेपालका बैकरहरुले ती सम्भावनाहरु बुझेर नै गाउँ गाउँसम्म शाखा विस्तारलाई प्रतिस्पर्धात्मक रुपमा अघि बढाएका छन् ।
राष्ट बैकको नयाँ प्रावधान र निर्देशनपछी बैकहरुले ४ गुणा पुजी बढाएका हुन् । पुजी ४ गुणा बढाएसँगै बैकहरु यतिबेला बिजनेस पनि ४ गुणा नै बनाउने अभियानमा छन् । जसका लागि उनीहरु बजार विस्तार गरिरहेका छन् । यसरी नेपालको बैकिङ क्षेत्रले यस प्रकारले प्रतिस्पर्धामक रुपमा प्रगतीको निम्ती अघि बढे जसरी प्रदेश सरकारहरुले पनि विकास र सम्बृद्धिको लागि प्रतिस्पर्धात्मक रुपमा अघि बढने हो भने मुलुकले निकै ठुलो फड्को मार्ने थियो ।
त्यसकारण समग्र क्षेत्रहरुले बैकिङ क्षेत्रको प्रगतीबाट शिक्षा लिन आवश्यक छ । बैकरहरुको व्यवस्थापकीय कौशलता र अनुभवहरुबाट प्रेरणा लिन सक्नुपर्छ । एउटा क्षेत्रमात्रै व्यवस्थीत र प्रगतीपथमा लम्केर हुदैन । सबै क्षेत्र एकाकार रुपमा प्रगतीपथमा लम्कनु पर्छ । व्यवस्थापन बहुतै महत्वपुर्ण कार्य हो । यसको महत्व केवल बैकमा मात्रै होइन । एउटा घर, एउटा स्कुल, एउटा कम्पनी, एउटा प्रदेश र एउटा देश यत्रतत्र यसको महत्व छ । मुलुकको बागडोर सम्हालेकाहरुले व्यवस्थापन के हो र यसले कसरी सफलताको सिढिँ उकाल्छ भन्ने अनुभव नेपालका बैकरहरुसँग सिक्न सके राम्रो । सिकाइ र अध्ययनले नै नेतृत्वलाई परिपक्क एवं सफल बनाउन सक्छ । चतना भया ।
(लेखक गौतम बिजनेसपाटी डटकमका सम्पादक एवं व्यवस्थापन सम्बन्धी पुस्तकका लेखक हुन् )

प्रकाशित मिति २०७५-८-३

फेसबुकबाट तपाईको प्रतिक्रिया