भत्ताको रकम खर्चेर मेशिन खरिद

काठमाडौँ ११ कार्तिक

कञ्चनपुर – खाजा खर्च जोगाएर कञ्चनपुरको झलारी आयुर्वेदिक औषधालयका लागि मेशिन खरिद गरिएको छ । औषधालय व्यवस्थापन समितिका पदाधिकारीले बैठक खाजाका लागि उपलब्ध हुने भत्ताको रकम खर्चेर मेशिन खरिद गरेका हुन ।

भत्ताको रकमबाट औषधालयका लागि रु २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्री मेशिन र रु १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरिद गरिएको औषधालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । “खाजा भत्ताको रकम सङ्कलन गरी भारतबाट औषधालयका लागि आवश्यक पर्ने मेशिन खरिद गरी हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो ।

उपलब्ध गराइएका मेशिनले फिजियोथेरापी गर्नमा सघाउ पुग्ने औषधालयका वैद्य दिवाकर जोशीले बताउनुभयो । औषधालयमा नगर प्रमुख संरक्षक रहेको सात सदस्यीय व्यवस्थापन समिति रहेको छ । औषधालयमा आयुर्वेदिक औषधिको सहयोगमा बिरामीको उपचार हुने गरेको छ । औषधालयले पञ्चकर्म सेवासमेत सञ्चालन गरेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया