भ्रष्टाचार प्रमाणित भए कारवाही भोग्न तयार छु : कार्यकारी निर्देशक घिसिङ

काठमाडौं ७ जेस्ठ ।

सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपाल विद्युत प्राधिकरणको महसूल बक्यौताका सम्बन्धमा छलफल भएको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले विद्युत महसुल उठाउन प्राधिकरण सञ्चालक समितिले भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति बनाएको र सोही समितिले दिने प्रतिवेदनका आधारमा विद्युत नियमन आयोगमार्फत महसूलका बारेमा अन्तिम निर्णय हुने बताउनुभयो ।
विगतमा  आयोग नभएका कारण महसूलको विषयमा निर्णय गर्न प्राधिकरणलाई समस्या परेको र केही समय पहिले आयोग समेत गठन भइसकेको अवस्थामा अब केही समयपछि समस्याको समाधान हुने सचिव घिमिरेको भनाइ छ ।
बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता महसुल उठाउन प्राधिकरण इमान्दर भएर लागिपरेको र कोही कसैलाई छुट नदिने स्पष्ट पार्नुभयो ।
बैठकमा सांसद अमनलाल मोदीले विद्युतभार कटौतीको अन्त्य गरेको नाममा प्राधिकरणमा आर्थिक अनियमितता भएको आरोप लगाउनुभयो ।
सांसद मोदीले विद्युतभार कटौतीको अन्त्य गर्न तत्कालीन मन्त्री, सचिव तथा अन्य कर्मचारीको पनि महत्वपूर्ण भूमिका रहेको भए पनि प्राधिकरणको नेतृत्व आफैँले जस लिएको र त्यसैका आधारमा आर्थिक अनियमितता भएको आरोप लगाउनुभयो ।
सांसद मोदीको उक्त भनाइको प्रतिवाद गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफू कार्यकारी निर्देशक भएर आएपछि कुनै आर्थिक अनियमितता भएको प्रमाणित भए कारवाही भोग्न तयार रहेको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “बाँकी बक्यौता रहेको महसुल उठाउन प्राधिकरणले हदैसम्मको प्रयास गरेको छ । कुनै पनि कमजोरी गरिएको छैन । आर्थिक अनियमितता गर्ने भन्ने कुनै प्रश्न छैन । अनियमितता भएको प्रमाणित भए म कारवाही भोग्न तयार छु ।”
बैठकमा सांसद राजन के.सी.ले बाँकी बक्यौता उठाउन प्राधिकरणले सार्थक प्रयास गर्नुपर्ने बताउनुभयो ।
सांसद लेखराज भट्टले कमी कमजोरी नहुने गरी काम गर्न प्राधिकरण नेतृत्वलाई सुझाव दिनुभयो ।
सांसद शरतसिंह भण्डारीले गलत भएको भए छानबिन गर्नुपर्ने तर काम गर्ने व्यक्तिको मानमर्दन गर्न नहुने बताउनुभयो ।
समितिका सभापति भरत शाहले प्राधिकरणको महसूल बक्यौताको विषयमा समितिले सत्यतथ्य छानबिन गर्ने जानकारी दिनुभयो ।
रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया