महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा रजस्वला उत्सव मनाइयो

काठमाडौ २३ जेष्ठ ।
बूकवर्म फाउण्डेसनको आयोजनामा महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा रजस्वला उत्सव मनाइएको छ । यो कार्यक्रमको आयोजना गरिनुको उद्देश्य महिनावारी प्रति रहेको नकारात्मक मानसिकतामा परिवर्तन ल्याई यसलाई हेरिने घृणाभावलाई उत्सवमा बदल्नु रहेको थियो । कार्यक्रमको शुरुवात् नेपाली समाजमा व्याप्त रजस्वला सम्बन्धी अन्धविश्वास उपरको अन्तरक्रियात्मक छलफलबाट गरिएको थियो । यस अन्तरक्रिया कार्यक्रमको संयोजन कानून व्यवसायी तथा लेखिका दुर्गा कार्कीले गर्नु भएको थियो । जसमा सहभागी वक्ताहरु यस क्षेत्रमा दशर्कौंदेखि कार्यरत एसआरएचआर विज्ञ डा.लक्ष्मी तामाङ्ग, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुश्री मोहना अन्सारी र पश्चिम नेपालमा प्रचलित एक रजस्वला सम्बन्धी प्रथामा आधारित उपन्यास छाउघरका लेखक श्री राजसरगम गौतम हुनुहुन्थ्यो । अन्तरक्रिया मात्र नभई सो कार्यक्रममा वर्डवारियर तथा नवराज पराजुलीबाट रजस्वला सम्बन्धी बिषयलाई सेरो फेरो बनाई कविता वाचन गरिएको थियो । कार्यक्रम आई एम इ नेपाल लिटरेचर फ्यस्टीभलको काठमाण्डौंमा विस्तारीत कार्यक्रम थियो भने वाई वाई बनौ आर्दश नागरिक अभियान अन्र्तगत मुल नाराका साथ कार्यक्रमलाई समर्थन गरिएको थियो ।
संयोजकले कार्यक्रमको आरम्भ गर्दै नेपालमा पनि सन् २०१५ देखि महिनावारी स्वच्छता दिवस मनाउन थालिएको सन्दर्भलाई आंैल्याउनु भएको थियो । वहाँले ढिलै भएपनि अन्ततः नेपालले पनि महिनावारी स्वच्छतालाई अन्य वातावरण दिवस वा एचआइभि विरुद्धको दिवस जसरी नै मान्यता दिएर मनाउने प्रचलनको थालनी गर्नु, एक राम्रो संकेत भएको बताउनु भयो ।
नेपालमा किन महिनावारी र रजस्वला सरसफाई केवल स्यानिटरी प्याडहरुमा सीमित रहेको छ भनी संयोजकले राख्नु भएको जिज्ञासाको जवाफ दिंदैं डा. तामाङ्गले भन्नु भयो नेपाल जस्तो देशको परिप्रेक्ष्यमा स्यानिटरी प्याडमा नै भएपनि जनचेतना बढ्नु र यसको चासो राख्नु एक राम्रो लक्षण हो तर महिनावारी स्वच्छता स्यानिटरी प्याडमा केन्द्रित रहनु चाहिं अस्थायी विकास हुन सक्नेछ । यो दिगो नहुन सक्छ । अतः हामीले अझ व्यापकरुपमा बुझेर र बढी स्थायी पहलहरुका साथ आउनु जरुरी छ । वहाँले यस कुरामा जोड दिनु भयो कि हामीले महिनावारीलाई कलँकको रुपमा लिनुभन्दा एक उत्सवको रुपमा बुझेको तथा यो जिन्दगी र सुस्वास्थ्यपनाको एक प्रक्रियाको रुपमा ग्रहण गरेको कुरालाई यकिन गर्नु जरुरी छ । वहाँले यो पनि भन्नु भयो कि हाम्रो दिमागमा हाम्रो परम्परागत संस्कार र धर्मले जरा गाडेर बसेको छ, त्यसैले यदि हामी स्थायी रुपमा परिवर्तन ल्याउन चाहन्छौं भनें त्यो जरा गाडेर बसेको सोचमा पनि परिवर्तन ल्याउनु जरुरी छ ।
“महिनावारी हुनु भनेको सुस्वास्थ्यपनाको एक संकेत हो । यसले केटी स्वस्थ रहेको र बच्चालाई जन्म दिन सक्षम रहेको जनाउँदछ । जुन केटीले उचित पोषण प्राप्त गरेको हुन्छ उसको महिनावारी पनि समयमै हुन्छ तर उचित पोषणको अभावमा केटीहरुको महिनावारी पनि समयभन्दा ढिला हुन जान्छ । यसरी महिनावारी नहुनाले अन्य स्वास्थ्य समस्याहरु जस्तैः रक्त अल्पता वा पाठेघर सम्बन्धी समस्याहरु देखापर्न सक्दछन् ।” डा. तामाङ्गले भन्नु भयो ।
श्री गौतमले छाऊ परम्पराको बारेमा आफ्नो उपन्यासमा लेखिएको विषयहरुमाथि प्रकाश पार्नु भयो र आफ्नै छरछिमेकका महिलाहरु महिनावारी बार्न छाऊमा जाने गरेको देखेर त्यसबाट प्रत्यक्ष अनुभव गरेकोले नै उक्त उपन्यास लेख्नमा प्रेरणा मिलेको बताउनु भयो ।
वहाँले आजसम्म पनि डोटी र अछाम जस्ता जिल्लाहरुमा यो प्रथा व्यापक रुपमा प्रचलनमा रहेको बताउँदै सबैभन्दा अचम्मलाग्दो कुरा त स्थानीय तहका राजनैतिक नेतृत्वहरु र स्थानीय सरहकारका प्रतिनिधिहरु नै यही कुप्रथाको पक्षमा रहेको र यो परम्परालाई परिवर्तन गर्न अनिच्छुक रहेको जानकारी गराउनु भयो । यस परिप्रेक्ष्यमा, आमनागरिकहरुबाट उनीहरुको धारणामा परिवर्तनको अपेक्षा राख्नु एक दिवास्वप्नमात्र हुने पनि वहाँको तर्क रह्यो ।
सुश्री मोहना अन्सारीले पश्चिम नेपालमा हालैमात्र आफूले छाऊ गोठ र छाऊ प्रथाको रोकथामको लागि बनाइएका कानूनी व्यवस्थाहरुको अवस्थाको सम्बन्धमा बुझ्न जाँदाको अनुभव सुनाउनु भयो । वहाँले अनुभव सुनाउँदै भन्नु भयो त्यहाँको अवस्था कानून आउनुभन्दा अघि जस्तो थियो त्यस्तै नै आज पनि छ । कार्यान्वयन पक्ष अत्यन्त फितलो रहेको पाएँ । र वास्तवमा भन्ने हो भनें समुदायका मानिसहरु र स्थानीय नेताहरु छाऊको बारेमा राष्ट्रिय सञ्चार माध्यम र उपत्यकामा भैरहेको छलफलहरुलाई लिएर क्रोधित भैरहेको अनुभव मेरो रह्यो । उनीहरुका अनुसार उनीहरुले आफ्नो संस्कृति र परम्परालाई पालना गरिरहेको विषयलाई लिएर र छाऊ परम्पराको चित्रण राष्ट्रिय बहस बनाएर अनावश्यक रुपमा लान्छना लगाइएको छ भनें सञ्चार माध्यमहरुले उनीहरुको समुदायको छवि र उनीहरुको संस्कृतिलाई धमिल्याएको आरोप लगाउने गरेका छन् । तर वहाँले नेपालका धेरै समुदायहरु जस्तै मुस्लिम समुदाय, आदिवासी समुदाय र मधेशी समुदायहरुले यसप्रकारको परम्परा पालना गर्ने नगरेको बताउँदै यो परम्परा पालना गर्ने समुदायहरुमा पनि क्रमशः परिवर्तन आउँदै गएको बताउनु भयो । वहाँले यो मुद्दालाई लिएर स्थानीय नेताहरु लगायत धामी झाँक्रीहरु र राजनैतिक नेतृत्वहरु समेत आ–आफ्नो समुदायमा सक्रिय रहेकै कारण उल्लेख्य परिवर्तन आउन सकेको जानकारी समेत दिनु भयो । वहाँले उपस्थित दर्शकहरुलाई यो जानकारी पनि दिनु भयो कि राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई छाऊ प्रथासँग सम्बन्धित मुद्दा उपर अघि बढेर कारवाही गर्न निर्देशन दिएको छ र यसले गर्दा कसैले उजुरी दर्ता नगरेपनि प्रहरीलाई त्यस्तो प्रथा चलाउने व्यक्तिहरुका विरुद्धमा कारवाही प्रक्रिया अघि बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ । वहाँले स्थानीय राजनैतिक नेतृत्वहरुले यसप्रकारको कुप्रथाहरुका बारेमा आवाज नउठाएको विषयले आफूलाई उदेकमा पारेको समेत जानकारी दिनु भयो । वहाँले जे भएपनि, आफू आजका नयाँ युवा पुस्ताहरुले रजस्वला रुढीवादी परम्परा विरुद्ध र जैविक दृष्टिकोणले नारीहरुलाई पर्न जाने हानी नोक्सानीका बारेमा सशक्त ढँगले आवाज उठाउने गरेको हुँदा उनीहरुबाट आशावादी रहेको पनि बताउनु भयो ।
वक्ताहरुले महिनावारी विरुद्धको रुढीवादी परम्परा शहरी क्षेत्र र ग्रामीण भेगहरुमा उत्तिकै मात्रामा प्रचलनमा रहेको बताउँदै त्यसको लागि उनीहरुको मानसिकतामा नै परिवर्तन ल्याउन जरुरी रहेको जानकारी गराउनु भयो । “भौतिक रुपमा छाऊ गोठहरु भत्काएर मात्र पर्याप्त हुँदैन, हामीले हाम्रो दिमागमा बनेको छाऊ गोठहरु पनि भत्काउनु जरुरी छ ।” कार्कीले भन्नुभयो । सबै वक्ताहरुले ठोस, देखिने एवं दिगो परिवर्तन प्राप्त गर्न तथा प्रचलित मानसिकतामा परिवर्तन ल्याउन नेतृत्वकर्ताहरु र अभियन्ताहरुको सक्रिय भूमिका हुनेमा जोड दिनु भयो । वहाँहरुले युवाहरुले पनि यस्तो रुढीवादी परम्पराको विरुद्धमा आवाज उठाउन र प्रगतिशील कानूनहरुको सुनिश्चित् कार्यान्वयन गर्नमा मुख्य भूमिका खेल्नु पर्छ भन्नेमा युवाहरुको ध्यानाकर्षण गराउनु भएको थियो । वक्ताहरुले यसै विषयमा महिनावारीको देवीको रुपमा कामाक्षा देवीको सकारात्मक उदाहरण प्रस्तुत गर्दै र युवाहरुको दृष्टिकोण परिवर्तन गर्न जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया