मुलुकले आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनुपर्छ : चेम्वर उपाध्यक्ष मल्ल

बिजनेसपाटी १३ अशोज
नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले राजनीतिक संक्रमणकाल अन्त भई स्थिर सरकार गठन भएकोले अव मुलुकले आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । धादिङ चेम्वर अफ कमर्सको शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

निजी क्षेत्रको सशक्तिकरणको माध्यमबाट मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सकिने तर्क पेश गर्दै उनले भने, “कृषिमा व्यवसायीकरण ल्याउनु पर्ने, धादिङ जिल्लामा कृषि महाबिद्यालय स्थापना गरिनुपर्ने, ’एग्रो टुरिजम’, ’हाइड्रो टुरिजम’, ’रिभर टुरिजम’ आदिको विकास गरि यी सबैमा निजी क्षेत्रको व्यापक सहभागिता गराइए देशले दोहोरो अंकको आर्थिक बृद्दी हाँशिल गर्न सक्छ ।“ निजी क्षेत्रको धरोहरका रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्स मुलुकको विद्यमान संघीय संरचना अनुरुप संस्थागत स्वरुपमा विस्तार हुन गइरहेको जानकारी दिंदै मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पु¥याउने अभियानको शुभारम्भ भएको जानकारी दिए।

उनले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनुपर्ने कुरा पनि उल्लेख गरे । यसका लागि सरकारले निर्यात बृद्धि गर्ने नेपाली उद्योगी व्यवसायीहरुलाई सम्मान गर्ने परम्परा थाल्नु पर्ने आवश्यकता औल्याए । मुलुकको आर्थिक समृद्धिका लागि नेपाल चेम्वर अफ कमर्सले खेल्दै आएको भूमिकाबारे उल्लेख गर्दै उनले चेम्वर, सरकार र निजी क्षेत्रबीच सेतुको रुपमा रहँंदै आएको चर्चा गरे ।

स्वागत मन्तव्य राख्दै धादिङ चेम्वर अफ कमर्सका अध्यक्ष गोबिन्द श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सको मार्ग दर्शनमा रही व्यवसायीक हितको लागि अग्रगामी भुमिका निर्वाह गर्ने कुरा व्यक्त गरे । सो अवसरमा नेपाल चेम्वर अफ कमर्स प्रदेश नंं ३ का अध्यक्ष कृष्णमान श्रेष्ठ, निलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुगानाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल चेम्वर अफ कमर्स कार्य समितिका सदस्य निरज राइको पनि उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया