यदि तपाई धितोपत्र (शेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाई आदि) मा लगानी गर्दै हुनुहुन्छ भने लगानी गर्नु अघि निम्न कुराहरुमा विशेष ध्यान दिनुहोस् ।

– धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिने ।
– धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्ने । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकंन समेत गर्ने ।
– प्राथमिक बजारमा सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङ्गको स्तर जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गर्ने ।
– धितोपत्रको प्राथमिक बजारमा लगानी गर्नु अघि आफुले लगानी गर्न लागेको धितोपत्र (शेयर) नेपाल धितोपत्र बोर्डमा दर्ता भए नभएको तथा ओटिसी बजारमार्फत् बाहेक दोस्रो बजारमा लगानी गर्दा नेप्सेमा सूचीकृत भए नभएको बारेमा जानकारी राख्ने ।
– नेप्सेमा सूचीकृत धितोपत्रमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु (Earning Per Share, Dividend Per Share, Price/Earning Ratio, Net Worth Per Share) , पूँजीकोष अनुपात, निस्क्रिय कर्जा अनुपात आदि) धितोपत्रको मूल्य प्रबृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण कुराहरुको अध्ययन गर्ने । यस्ता सूचना तथा गतिविधिहरु निरन्तररुपमा नेप्सेको वेबसाईट (www.nepalstock.com) , सम्बन्धित कम्पनीको वेबसाइट तथा विभिन्न आर्थिक पत्रपत्रिकाहरुमा प्रकाशित हुने गरेको छ । साथै कम्पनीसंग सम्बन्धित उद्योग-क्षेत्रको समेत अवस्थाको अध्ययन गर्ने ।
– धितोपत्र बजारलाई आधुनिकीकरण गर्ने क्रममा मिति २०७२ माघदेखि धितोपत्रहरुको दोस्रो बजारको कारोवार, नामसारी तथा राफसाफ पूर्ण अभौतिकरुपमा (Full Demat)  मात्र हुने गरिएको र प्राथमिक बजारमा सार्वजनिकरुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा काठमाडौं उपत्यका भित्र २०७३ श्रावणदेखि र २०७३ माघदेखि नेपालभरि हितग्राही खाता(Demat Account)  अनिवार्य गरिएको हुंदा, सिडिएस एण्ड क्लियरिङ्ग कम्पनी लिमिटेड (सिडिएससी) तथा निक्षेप सदस्यसँग सम्पर्क राखी बैंक खाता सहितको ग्राहक परिचय विवरण (KYC Form) अनिवार्यरुपमा भरी हितग्राही खाता (Demat Account) खोलेर धितोपत्र खरिद बिक्री कारोवार गर्ने । आफूले खरिद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए÷नभएको ध्यान दिने ।
– धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहने ।
– धितोपत्रको सार्वजनिक निष्काशनमा २०७३ माघदेखि आस्वा प्रणाली लागू गरिएकोमा २०७४ श्रावणदेखि उक्त प्रणालीलाई अनिवार्य गरिएकोले आगामी दिनमा शेयर आवेदन दिंदा यो प्रणालीमार्फत मात्र निवेदन दिने ।
– प्राथमिक बजारलाई प्रविधिमैत्री, व्यवस्थित र पारदर्शी बनाउनको लागि धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धी कार्य संचालन निर्देशिका, २०७४ लागू गरिएकोमा सि–आस्वा रजिष्ट्रशन नं. लिने सम्बन्धमा जानकारी राख्ने ।
– धेरै लगानीकर्ता सहभागी गराउने उद्देश्यले धितोपत्र बाँडफाँड गर्दा आस्वा प्रणाली लागू भए पश्चात सबै आवेदकलाई कम्तिमा १० कित्ता वा दशको गुणनमा धितोपत्र बाँडफाँड गर्ने व्यवस्थाका सम्बन्धमा जानकारी राख्ने ।
– धितोपत्र कारोवार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत मात्र गर्ने । धितोपत्र कारोवार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा धितोपत्र व्यवसायी नियमावली हेरी जानकारी राख्ने ।
– लगानी विविधिकरणले (Investment Diversification) लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाँउ पु¥याउने हुँदा लगानी विविधिकरणमा ध्यान दिने ।
– दीर्घकालीन रुपमा गरिने लगानीले जोखिमको संभावनालाई न्युन गराउने कुरालाई ध्यान दिने ।
– लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन नियमहरुको साथै बोर्डबाट भएका व्यवस्थाहरुबारे जानकारी राख्ने । धितोपत्र सम्बन्धी ऐन नियमहरु र अन्य व्यवस्थाको जानकारी बोर्डको वेबसाइट (www.sebon.gov.np) तथा बोर्डको सम्बन्धित प्रकाशनमार्फत समेत हेर्न सकिने ।
– नेप्सेबाट सूचीकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओटिसी (OTC) बजारबाट कारोवार गर्न सकिने व्यबस्था भएको हुंदा सोबारे जानकारी राख्ने ।
– धितोपत्रको दोस्रो बजारमा कारेवार गर्दा वोर्डबाट इजाजत प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायीमार्फतमात्र गर्ने ।
– पूँजी बजार सम्बन्धी नीति, नियम तथा निर्देशनहरुले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्ने ।
– धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्ने ।

नेपाल धितोपत्र बोर्ड
पो.व. नं. ९०३१, जावलाखेल, ललितपुर
फोनः ०१–५५४१०५७, ५५५११६२, ५५४४०७७, ५५५०५११
फ्याक्सः ०१–५५४१०५८ टोल फ्रि.न.: १६६०–०१–४४४३३
वेबसाइटः www.sebon.gov.np ईमेल ठेगानाःsupport@sebon.gov.np

फेसबुकबाट तपाईको प्रतिक्रिया