राष्ट्र बैंकद्धारा ६ अर्बको विकास ऋणपत्र निष्काशन

सरकारका लागि आन्तरिक ऋण उठाउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले मंगलबार ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।  सरकारले गर्ने विकास निमार्णका लागि आवश्यक रकम जुटाउन विकास ऋणपत्र जारी गर्न लागिएको हो ।

आज मंगलवारबाट निष्काशन हुने विकास ऋणपत्र २०८७ ’ख’   को अवधि ११ वर्ष रहेको छ।  ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।

ऋणपत्रमा ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८० प्रतिशत अर्थात ४ अर्ब ८० करोड र अप्रतिस्पर्धीलाई २० प्रतिशत अर्थात १ अर्ब २० करोड छुट्याइएको छ । इच्छुक खरीदकर्ताले जेठ ७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ ।

न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म ऋणपत्र माग गर्न सकिने जनाइएको । जेठ ८ गते निष्काशन हुनेछ भने २०८७ जेठ ८ गते ऋणपत्रमा गरिएको लगानी साँवा सहित फिर्ता हुनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया