रुसमा क्रममा रनवेमै विमानमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु

एजेन्सी २३ बैशाख

रुसको राजधानी मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। सो विमान शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको थियो।

एयरोफ्लोट कम्पनीको सुखोइ सुपरजेट १०० विमानमा प्राविधिक समस्या आएर आगो लागेपछि आपतकालीन अवतरण गरिएको थियो। आपतकालीन अवतरण पश्चात ३७ जना बाँच्न सफल भएका छन् भने घटनामा परि हालसम्म ४१ जनाले ज्यान गुमाएको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

उडान भरेको केही बेरमै धुँवा निस्किएको विमानमा कसरी आगलागी भयो भन्ने प्रष्ट हुन सकेको छैन । भिडियोमा विमानको पछिल्लो भागमा आगो लागेर मुस्लो देखिन्छ भने आपत्कालीन द्वारबाट यात्रुहरू निस्किएर भागिरहेको देखिएको छ ।

रूसी समाचार संस्थाका अनुसार मृत्यु हुनेमा २ बालबालिका र एकजना विमान परिचारिका रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले उद्धार गरिएका घाइते ५ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य गरि ८३ जना सवार रहेका थिए ।

उडेको करिब आधा घण्टामै आपत्कालीन अवतरण गरिएको उक्त विमान अवतरण गर्दागर्दै विमानको इन्जिनबाट आगो लागेको अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया