वायु प्रदुषणका कारण बर्षेनी छ लाखको मृत्यु

जेनेभा, १३ कात्तिक

हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ ।
संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ ।
प्रदुषणका कारण बार्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्याङ्क सन् २०१६ को भएको समाचारमा जनाइएको छ ।
“यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,” डब्लुएचओले भनेको छ ।
तथ्याङ्क अनुसार प्रत्येक दश जना मध्ये नौ जनाले प्रदुषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक बर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ ।
वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जना मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।
वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो । (रासस-एएफपी)

फेसबुकबाट तपाईको प्रतिक्रिया