विश्व बैंकको अध्यक्षमा ६३ वर्षीय डेभिड माल्पास नियुक्त

एजेन्सी २५, चैत्र

विश्व बैंकको अध्यक्ष पदमा अमेरिकी अर्थमन्त्रालयका वरिष्ठ अधिकारी डेभिड माल्पास नियुक्त भएका छन् । ६३ वर्षीय माल्पास विश्व बैंकको १३ औँ अध्यक्षको रुपमा सर्वसम्मत चयन भएका हुन् । उक्त पदमा माल्पास एक मात्र उम्मेदवारका थिए ।

बैंकले आफ्नो बयानमा अध्यक्षको नामांकन प्रक्रिया पूर्ण रुपमा पारदर्शी बताएको छ । माल्पासको कार्यकाल ९ अप्रिल २०१९ देखि आगामी ५ वर्षका लागि हुनेछ । विश्व बैंकको अध्यक्ष अन्तर्राष्ट्रिय पुनर्निमाण एवम् विकास बैंक (आईबीआरडी) तथा अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को निर्देशक मण्डलको अध्यक्ष हुने गर्दछन् । जसअनुसार माल्पास पनि उक्त पदका लागि समेत अध्यक्ष रहनेछन् ।

बैंकका पूर्व अध्यक्ष जीम योङ किमले फेब्रुअरी १ देखि लागू हुने गरी दोस्रो पाँच वर्षे कार्यकालको बीचमै राजीनामा दिएपछि बैंकमा अध्यक्ष पद रिक्त रहेको थियो । सो पदका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माल्पासको नाम सिफारिस गरेका थिए । माल्पास अमेरिकी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय मामिला अधिकृत हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया