हेलो सरकार : मजाक नगरौ न यार !

लक्ष्मण गौतम

बोल्ने तरिका गलत भए होला तर शेरबहादुर तमाङले वास्तवमा सत्य नै बोलेका थिए । नैतीकताको आधारमा राजिनमा दिन लगाईयो र दिए पनि । वाईड बडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएकै हो र लेखा समितिले गठन गरेको छानबिन समितिले आफ्नो प्रतिबेदन पनि बुझायो । तर सरकारले त्यो प्रतिबेदन मन्दिन भनेर अर्को छानबिन समिती बनाउने भनेको सिधै भ्रष्टाचारीहरुलाई जोगाउने हो । शेरबहादुर तमाङसँग नैतिकता खोज्नेहरुले रविन्द्र अधिकारीसँग नैतीकता खोज्न नपर्ने कस्तो खालको हाईब्रिड नैतिकता हो यो ? लेखा समितिको प्रतिबेदन मान्दिन भन्ने कस्तो खालको लोकतान्त्रिक सरकार हो यो ?
थुप्रै प्रहरीहरु जिउदै जलेका छन । बालकलाई समेत गोली हानेर हत्या गरिएको छ र त्यही हत्यामा आरोपितलाई जेलबाट निकालेर फुलमाला लगाएर सपथ खुवाएर सांसदको लोगो लगाईदिएर फेरी जेल भित्र पसाल्ने यो कस्तो कानुनी राज्य हो ? अब जनताले सांसद खोज्न संसद भवन जाने कि जेल तिर ? मान्छे मारेको अभियोगमा जेलमा बसेको मान्छेले सांसद को लोगो लगाएर तलव भत्ता खान पाईन्छ ?
महिला प्रहरीले निर्मलाको लाशबाट सुरबाल फुकालेर पानीमा धोएको भिडियो नै छ । प्रहरीको काम प्रमाण संकलन गर्ने हो कि नष्ट गर्ने ? प्रमाण नष्ट गरेको देख्दा देख्दै पनि तेही प्रमाण नष्ट गर्नेलाई समातेर केरकार गर्ने कि पुरै गाउँको डिएनए टेष्ट गर्दै हिंड्ने ? सरकार यो कस्तो खालको आधुनिक अनुसन्धान हो ? बरु वास्तवमा गोरुले बलात्कार गरेको रहेछ भनेर एउटा गोरु समाती दिए भो । बिचरा गोरु बोल्दैन क्यारे । अनि यो काण्ड नै समाप्त भो ।

देश धर्म निरपेक्ष राष्ट्र गरे । अनि सरकार कुनै एउटा धर्मको सह आयोजक भएर धार्मिक कार्यक्रम गर्न पाईन्छ ? जनप्रतिनिधीहरुलाई आर्थिक प्रलोभन देखाएर होली वाईन खुवाउन पाईन्छ ?

कुनै एउटा पत्रकारले मन्त्रिले बुझाएको सम्पत्तीको बिवरणमा झुट समातेर प्रश्न सोध्दा जागिर चट पार्न पाईन्छ ? जनतालाई कर थोपरेर जनप्रतिनिधीहरुका लागि सुख सुबिधा, गाडी भत्ता सुरक्षाका नाउमा अर्वौ उढाउन पाईन्छ ? के यसैका लागि राजा फालेर गणतन्त्र ल्याईएको हो ?
यातायात काण्ड, सुन काण्ड, काम नगर्ने ठेकेदारलाई कारवाही गनेर्, काण्ड एनजिओ, आइएनजिओको सम्पत्ती छानबिन गर्ने काण्ड लगायतका थुप्रै काण्डहरु खोई कता हराए ?
प्रकासित मिति २०७५–९–२१

फेसबुकबाट तपाईको प्रतिक्रिया