३३० विद्यालय बनाउन परामर्शदाता नियुक्त

काठमाडौं २८ चैत्र 

हामीकहाँ विकासका आयोजनाहरू समयमा नसकिने रोग नै बनिसकेको छ । सरकारले अनेक योजना सार्वजनिक गर्छ तर लिएको लक्ष्य पूरा नभएको गुनासो सधैँ सुनिरहनुपरेको छ ।

प्रत्येक नयाँ आर्थिक वर्षमा सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत् मुलुकका लागि विभिन्न महत्त्वका योजनाहरू सार्वजनिक गर्छ । सरकारले प्रस्तुत गर्ने योजना र निर्धारण गर्ने बजेटलाई हेर्ने हो भने आज हाम्रो मुलुकले विकासका दृष्टिकोणले कायापलट गरिसक्नुपर्ने हो । ठूलाठूला योजना ल्याउने तर कार्यान्वयन नहुने रोगका कारण हामीले सोचेअनुसारको विकास देख्न पाइरहेको छैनौँ । विकासको यस्तो धिमा गतिका कारण विकासका साझेदार अन्तर्राष्ट्रिय एजेन्सीहरूले पनि प्रायः असन्तुष्टि जाहेर गर्ने गरेका थिए ।

सधैँजसोको निराशाजनक परिणामलाई चिर्दै यस पटक भने सरकारको महत्त्वपूर्ण संरचना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालय पुनर्निर्माणको कार्य समयमै सफलतापूर्वक सम्पन्न गरेपछि सर्वत्र हौसला पाइरहेको छ । सरकार र त्यससँग साझेदार गर्ने निर्माण कम्पनी र इन्जिनियरिङ कन्सल्टेन्सीहरूको सकारात्मक सहकार्यका कारण विद्यालय पुनर्निर्माणको कार्य समयमै सकिएको मात्र छैन, काम पनि निकै गुणस्तरीय भएको छ ।

यस कार्यबाट प्रभावित भएको दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले तत्काल दोस्रो चरणका लागि विद्यालय पुनर्निर्माणको कार्य अगाडि बढाउन अनुमति प्रदान गरिसकेको छ । पहिलो चरणमा विद्यालय पुनर्निर्माणको कार्य उत्साहजनक रहेको भन्दै सो परिणामका लागि सबैभन्दा पहिले उक्त आयोजनालाई उत्कृष्ट परियोजनाको पुरस्कार प्रदान गर्‍यो भने त्यसलगत्तै दोस्रो चरणको विद्यालय पुनर्निर्माणको कार्य अगाडि बढाउन आयोजनालाई अनुमति दियो ।

सोहीबमोजिम विद्यालय पुनर्निर्माण आयोजनाले दोस्रो चरणको विद्यालय पुनर्निर्माणका लागि भन्दै इन्जिनियरिङ कन्सल्टेन्सी नियुक्त गरेको छ ।

पहिलो चरणको विद्यालय पुनर्निर्माण कार्यको डिजाइन चरणको उत्कृष्ट कार्य गर्नेमध्येको एक उत्कृष्ट परामर्शदाता ईआरएमसी र दोस्रो चरणमा विदेशी कम्पनीसमेत आवश्यकताबमोजिम पाकिस्तानी परामर्शदाता उमार मुन्सी एसोसिएटलगायतलाई परामर्शदाता छनोट गरिसकेको छ ।

विभिन्न मोडेलमा भूकम्पपछिको विद्यमालय पुनर्निर्माणको कार्यलाई तीव्र रूपमा निर्माण गरिरहेको आयोजनाले उक्त परामर्शदाताहरूका माध्यमबाट अबको चार वर्षमा ३३० विद्यालय भवनहरूलाई पठनपाठनयोग्य बनाउने लक्ष्य लिएको छ ।

ईआरएमसीलगायत अन्य नेपाली परामर्शदाता कम्पनीहरूले १६२ विद्यालय पुनर्निर्माणकै काममा डिजाइन र सुपरीवेक्षणको काम सफल रूपमा सम्पन्न गरिसकेका थिए । यो सम्झौतापछि भने ईआरएमसी र पाकिस्तानी परामर्श कम्पनी उमार मुन्सीले १ सय ८० बिधालयपुर्ननिर्माणको सुपरिवक्षेण र १५० वटा विद्यालय रेट्रोफिट गर्ने कार्यको सुपरीवेक्षण र डिजाइन दुवै काम गर्ने आयोजनाका इन्जिनियर उद्धव नेपालले जानकारी दिए ।

भूकम्प प्रभावित ग्रामीण भेगमा विद्यालय भवन पुनर्निर्माणका लागि छनोट भएको परामर्श कम्पनी ईआरएमसी प्रा.लि.का प्रबन्धनिर्देशक उद्धव चौलागाईंले आफूहरूले विगतमा पनि भूकम्पपछिको कठिन समयमा सयौँ स्कुलहरूको डिजाइन र सुपरीवेक्षण गरेर समुदायलाई हस्तान्तरण गरिसकेकाले अब पनि समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

चौलागाईंले भने, ‘विगतमा पनि हामीले छहारी, चौर र ओडारहरूमा पढिरहेका हजारौँ विद्यार्थीहरूलाई सुविधासम्पन्न भवनमा पढ्ने वातावरण सिर्जना गर्नका लागि राज्यलाई प्रत्यक्ष सहयोगीको भूमिका निर्वाह गरेका थियौँ । अबको चार वर्ष हामी अझ चुस्त र गुणस्तरीय व्यवस्थापनका साथ स्कुलका भवनहरू निर्माणका लागि प्रत्यक्ष सहयोगीको भूमिकामा हुनेछौँ र प्रतिबद्धताबमोजिम नै कार्य सम्पन्न गरी हस्तान्तरण गर्नेछौँ ।’

गोर्खा भूकम्पपछिको पुनर्निर्माणको कार्य निराशाजनक भएको भन्दै आलोचना भइरहेका बेला विद्यालय पुनर्निर्माणको कार्यले भने उत्साहजनक गति लिएको छ । भूकम्प प्रभावित ग्रामीण बस्तीहरूमा आधुनिक विद्यालय भवन निर्माणले तीव्रता पाउँदै गएपछि एकातिर दातृ निकाय उत्साहित बनेको र अर्कोतिर पठनपाठनका लागि आधुनिक भवन प्राप्त गरेपछि भूकम्प प्रभावित स्थानीयहरू पनि निकै आशावादी बनिरहेका स्थानीयको भनाइ छ ।

पछिल्लो समय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीदेखि उच्चपदस्थ पदाधिकारीहरू प्रत्येक दिनजसो पुनर्निर्माण भएका नयाँ विद्यालय भवन उद्घाटन गरिरहेका भेटिन्छन् । कालो बादलमा चाँदीको घेरा देखिएझैँ विद्यालय पुनर्निर्माणले जसरी रफ्तार लिएको छ, यसले हाम्रा विकासे एजेन्सीहरू लक्ष्य निर्धारण गर्ने मात्र होइन, समयमै निर्धारित लक्ष्य हासिल गर्ने काम पनि गर्न सक्छन् भन्ने उदाहरण दिइरहेको छ ।

विद्यालय पुनर्निर्माणको कामले उत्कृष्टता हासिल गर्नुमा आयोजनाको कार्यक्षमता त छँदै छ, त्यसका अलावा यस कार्यमा संलग्न इन्जिनियरिङ परामर्शदाता कम्पनी ईआरएमसी र निर्माण कम्पनीहरूको समेत भूमिका रहेको आयोजनाले जनाएको छ ।

विगतमा हरेक वर्ष सरकार परिवर्तन भएसँगै प्राधिकरणको नेतृत्वमा समेत फेरबदल हुँदा पुनर्निर्माणको कार्य प्रभावित भएको भए पनि अब विद्यालय पुनर्निर्माण जस्तै सबै पुनर्निर्माणको कार्यले तीव्रता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

by aajakonews

फेसबुकबाट तपाईको प्रतिक्रिया