उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १४ पुस

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २९४ हप्तामा ललितपुरतिरको थापाथली पुलमुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाको वडा नं २ र १० का निर्वाचित जनप्रतिनिधिलगायत अभियानकर्मीको सहभागिता रहेको थियो ।

सफाइमा २१ संस्थाका ५०० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको नदी सफाइको २५५ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेजअघिको नदी किनारमा सफाइ गरियो ।

नगरपालिका–७ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारमा सफाइमा नआउनसमेत आह्वान गरेको छ ।

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अध्यक्ष नरेन्द्रराज बस्नेतले सफाइ महाअभियानको ३०० औँ हप्तासम्म गोकर्णेश्वर नगरपालिकाको माकालबारीमा स्नान गर्न सकिने गरी सफाइ गरिने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा नगरपालिका–७ का अध्यक्ष केशव गुरुङले छ महीनासम्ममा वडामा प्लाष्टिक निषेध गर्ने अभियान चलाइने वाचा गर्नुभयो । सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत संस्थाको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २४९ हप्तामा रातोपुल–सेतोपुल–रुद्रनगर टोलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० अभियानकर्मीको सहभागिता थियो ।

विष्णुमती सफाइ अभियानको २२१ हप्तामा टोखा नगरपालिका–९ र तारकेश्वर नगरपालिका–१० को सीमास्थित मनमैँजु पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई सुनाउनुभयो ।

मनोहरा नदी सफाइको ९४ औँ हप्तामा सञ्जय साइ आश्रमअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दङ्गालले बताउनुभयो । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । कार्यक्रममा पूर्वशहरी विकास सचिव किशोर थापा, जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहाललगायतको समेत सहभागिता थियो ।

चक्रपथ सफाइ अभियानको ९० औँ हप्तामा गोङ्गबु चोकबाट सामाखुशी चोकसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी भई सफाइकर्मीको हौसला बढाउनुभएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

सफाइपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री भट्टराईले घर घरबाट फोहर सडकसम्म नआउने गरी जनचेतनामूलक अभियान चलाइनुपर्नेमा जोड दिनुभयो । चक्रपथका दायाँबायाँको सडक किनारमा लामो समयदेखि बिग्रिएका सवारी साधन पार्किङ, निर्माण सामग्री थुपार्नेलगायत सीमा अतिक्रमणका काम भएकाले काठमाडौँ महानगरपालिकालाई छिटो हटाउन माग गरिएको संयोजक टण्डनले सुनाउनुभयो ।

आलोकनगर सफाइको ९० औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सो अवसरमा जनचेतनामूलक अभियानसमेत चलाइएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको उपत्यकाका नदी एवं चक्रपथलगायत विभिन्न स्थानको सफाइले देशव्यापी स्वरुप ग्रहण गरे पनि सोचेजति सफा हुन नसकेको गुनासो छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया