घोराही । दाङको एक प्लाइ उद्योगमा लागेको आगो अझै पनि पूर्ण रुपमा निभेको छैन । उद्योगमा करिव ३१ घण्टादेखि आगो लागिरहेको छ । घोराही उपमहानगरपालिका खैरा स्थित साङ्ग्रीला प्लाइ उद्योगमा सोमबार विहान १ बजेदेखि आगो लागेको हो । तर अहिलेसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
जिल्ला प्रहरीका अनुसार उद्योग ठूलो क्षेत्रफलमा फैलिएकै कारण त्यस क्षेत्रमा भण्डारण गरी राखिएका काठ र केमिकलमा सल्किएको आगो निभाउन कठिन भएको हो ।
उद्योगमा सल्केको आगो निभाउन रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियाबाट गरी आठवटा दमकल ल्याइए पनि घोराही उपमहानगरपालिकाको दमकल मात्र प्रयोग गरिएको छ । आगो निभाउने प्रयास अहिले पनि जारी नै छ । उद्योगभित्र ठूलो मात्रामा काठ, प्लाइ र केमिकल भएको र त्यसमा आगो सल्किएपछि उद्योगभित्र पुरै आगो फैलिएकै कारण समयमा निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी गराउनुभयो । आगो पुरै उद्योगभरि फैलिएका कारण पूर्ण रुपमा निभाउन कठिन भएको छ । उहाँका अनुसार अझै पनि उद्योगमा ५ प्रतिशत आगो छँदैछ । तर वरपरका बस्तीमा भने अब जोखिम छैन । यसअघि आगो बस्तीतर्फ पनि फैलिन सक्ने भन्दा वरपरका वस्तीबाट मानिसहरुलाई अन्यत्रै सारिएको थियो ।
आगलागीका कारण उद्योग पुरै ध्यस्त छ । अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । विद्युत सर्ट भएर उक्त उद्योगमा आगलागी भएको अनुमान गरिएको छ ।