सर्लाही । ३५ वर्ष अगाडि निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेपछि लालबन्दी नगरपालिका–१७ रानीगञ्जका बासिन्दालाई खानेपानीको समस्या थपिएको छ । खानेपानी जम्मा गर्ने ट्याङ्की र पाइपबाट पानी चुहिन थालेपनि लालबन्दी १७ का उपभोक्ता अहिले समस्यामा परेका हुन् ।
दुई लाख २५ हजार लिटर क्षमताको उक्त ट्याङकी २०४६ सालमा निर्माण भइ सञ्चालनमा आएको थियो । उक्त ट्याङकी निकै जीर्ण अवस्थामा पुगेको छ । मर्मतका लागि बजेट छैन । कहिँ कतैबाट बजेट नआउने र उपभोक्ताले मात्रै पैसा उठाएर मर्मत गर्न सक्ने अवस्था नरहेकाले समस्या बढेको उपभोक्तहरु बताउँछन् ।
पहिले गाविस हुँदा तीनओटा वडाबासीले मात्र उक्त ट्याङ्कीको पानी प्रयोग गर्दथे । अहिले नगरपालिका भएसँगै पानी प्रयोग कर्ताको संख्या तीन हजार घरधुरीको हाराहारीमा पुगेको छ । उपभोक्तको संख्यामा वृद्धि हुनु, ट्याङकी पुरानो भएर पानी चुहिनु, ३५ वर्षदेखि पुराना पाइपहरुमा खिया लागेर पानी चुहिनुले पनि समस्या थपेको उपभोक्त समितिका अध्यक्ष पुरुषोत्त पौडेल बताउनुहुन्छ ।
२०७२ सालको भुकम्पले समेत क्षति पु¥याएको उक्त ट्याङ्की मर्मत र क्षमता विस्तारका लागि चाहिने बजेट अभावका कारण स्थानीयबासीले सास्ती खेप्तै आएका छन् ।
विविध समस्याहरुका कारण उपभोक्ताहरुले पाएको सास्तीलाई सम्बन्धित निकायले कुनै चासो राखेको देखिँदैन । ट्याङ्कीको क्षमता वृद्धि तथा मर्मतका लागि पटक पटक मन्त्रालय धाउँदा पनि सम्बन्धित निकायले चासो देखाएको छैन ।
यो समस्यालाई योजनाभित्र नपारिनु, बजेट अभावकै कारण उपभोक्ताले खानेपानीको सास्ती खेप्नु, २०८१/०८२ को योजनामा ट्याङ्की निर्माण भनेर १० लाख विनियोजन गरे पनि त्यति रकमले टेन्डर लगाउन नमिल्ने भएपछि रकम फ्रिज हुनु र समाधानका लागि पटक पटक मन्त्रालय धाउदा पनि सुनुवाई नहुनुले उपभोक्ताले सास्ती खेप्न बाध्य भएका कुरा उपभोक्ता समितिका अध्यक्ष बताउनु हुन्छ ।
त्यतिमात्र होइन पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति भन्दै दायाँ बायाँ २५/२५ मिटर सडक विस्तारका कारण पनि रानीगञ्ज बासीलाई खानेपानीको समस्या थपिएको छ । सडक विस्तारका लागि प्रयोग गरिएका डोजरले वडाका धेरै पानीका पाइपलाइन क्षति गरेको छ । बीचमै पानी चुहिएका कारण उपभोक्ताको घरसम्म पानी पुग्न सकेको छैन । बढ्दो गर्मी र पानीको समस्याले उपभोक्ताहरुले झनै हैरानी खेपिरहेका छन् ।