चितवन । चितवन जिल्लाको माडी नगरपालिकाले घर तथा जग्गाको नक्सा पास र अभिलेखीकरण नगर्ने नगरवासीलाई विभिन्न सेवाबाट वञ्चित गर्ने भएको छ । नगरपालिकाले आगामी पुस मसान्तसम्म अभिलेखीकरण गर्ने समयसीमा निर्धारण गरी सो अवधिभित्र पनि अभिलेखीकरण नगरेमा नगरपालिकाबाट प्रदान गरिने सेवा रोक्ने जनाएको भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार पुस मसान्तसम्म अभिलेखीकरण नगर्ने नगरवासीको त्यसपछि घरजग्गा मूल्याङ्कनको सिफारिसमा रोक लगाउने, बैंकिङ कारोबारका लागि सिफारिस रोक्ने, कुनै पनि विपद्का घटनामा राहत तथा क्षतिपूर्ति लागि सिफारिस नगर्नेलगायत सेवा रोकिनेछ ।
पुस मसान्तपछि अभिलेखीकरण गर्नुपरेमा हाल लिइने शुल्कभन्दा दोब्बर राजस्व बुझाउनुपर्ने उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भुसालले भन्नुभयो, “पालिकाले गत असारमा स्वीकृत गरेको कार्यविधिअनुसार अभिलेखीकरण गर्न हामीले सबैमा सूचित गरेका छौँ । अभिलेखीकरण नगर्दा कार्यालयबाट दिइने सेवाबाट वञ्चित बन्नुपर्ने अवस्था आउनेछ ।”
घरजग्गा नक्सा पास एवं अभिलेखीकरणबाट पालिकालाई नगरमा रहेका हरेक व्यक्तिको भौतिक सम्पत्तिको विवरण प्राप्त हुने र यहाँबाट उपलब्ध सेवामा सहज पहुँच विस्तार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उनले भने, “भौतिक सम्पत्तिको अवस्था थाहा भएपछि विकासका योजना बनाउन पनि सहज हुनेछ ।”
कुनै विपद्का घटना भए वास्तविक क्षतिको विवरण लिन, राहत र क्षतिपूर्तिको सिफारिस गर्न सहज हुने, सुरक्षित आवासको अवधारणा कार्यान्वयन गर्न मार्ग प्रशस्त हुने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए। नगरपालिकाभित्र कुनै पनि स्वीकृत नलिइ निर्माण सम्पन्न भएका घररभवनको अभिलेखीकरण गर्न उहाँले सबैमा आग्रह गरे।
भुसालका अनुसार वडामा अभिलेखीकरण गरिसकेपछि नगरपालिकाले प्रमाणीकरण गर्नेछ । दश हजारभन्दा बढी परिवार रहेको यस पािलकामा हालसम्म २१० घर अभिलेखीकरण भएका उनले जानकारी दिए ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया