ललितपुर । अर्घाखाची जिल्लाको सन्धिखर्क नगरपालिकाका दुई स्थानमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएका छन् । दुई स्थानका शिविरबाट चार सय जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकामा स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क–४ र ५ लाई लक्षित गरेर बाङ्लामा र सन्धिखर्क–११ को डिभर्नामा एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा हाडजोर्नी दुख्ने, बाथ रोग भएका, स्त्रीरोगसँगै सामान्य पेटसम्बन्धी समस्या भएका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षणसँगै परामर्श, सुगर, प्रेसर जाँच गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरिएको थियोे । यसैगरी सिरहामा पनि लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि निःशुल्क ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर’ सम्पन्न गरेको छ । शिविरबाट दुई सय ५५ जना लाभान्वित भएका छन् ।
नगरपालिकाले उत्तरी भेगको दुर्गम क्षेत्रमा पर्ने वडा नं १७ र २४ मा गत बुधबारदेखि सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ३० वर्षदेखि ५५ वर्ष उमेर समूहका महिलाको पाठेघरको परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणको क्रममा दुवै वडाका पाँच जनामा ‘पोजेटिभ रिर्पोट’ आएको छ ।
शिविरमा जाँच गराउन आउनुभएका महिलामा क्यान्सरको पहिचान, अवस्थाको पूर्व जानकारी, उपचार विधिलगायत विषयमा सचेत गराउने र समस्या देखिएमा थप उपचारका लागि लहान नगरपालिकाले व्यवस्था गर्नेगरी शिविर सञ्चालनमा ल्याइएको थियोे ।