काठमाडौं । आइतबारका लागि इण्डियन प्रिमियर लिग (आइपिएल) मा दुई खेल हुदैछ । आजको पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार आइतवार दिउँसो ३ः४५ मा खेल सुरु हुदैछ । यसअघि दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो ।
दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । हैदराबाद भने आज तेस्रो खेल खेल्दैछ । हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्समाथि विस्फोटक ब्याटिङका कारण विजयी भएको थियो ।
तर, दोस्रो खेलमा भने लखनउसँग खराब ब्याटिङका कारण पराजित हुन पुग्यो । हैदराबादका दुई विष्फोटक ओपनर अभिषेक शर्मा र ट्राभिस हेडलाई दिल्लीका तीव्र गतिका बलर मिशेल स्टार्कको रोकावट रहन सक्छ ।
स्टार्कले आइपीएल २०२४ को पहिलो क्वालिफायरमा दुई बलमा रनको खाता नखोल्दै हेडलाई आउट गराएका थिए । स्टार्कले अभिषेक शर्मालाई फाइनलमा २ रनको व्यक्तिगत योगफलमा आउट गराएका थिए । यदि स्टार्कले यसलाई निरन्तरता दिए भने कुलदीप यादव, अक्षर पटेल र मुकेश कुमारसहित दिल्ली क्यापिटल्सका बलिङ युनिटका लागि ठूलो राहत हुनेछ ।
गत सिजन हेड र अभिषेकको आक्रामक इनिङका कारण हैदराबादले दिल्लीविरुद्ध पावर प्लेमा कुनै विकेट नगुमाई १ सय २५ रन बनाएको थियो । त्यो खेल दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा भएको थियो ।
तर, यस पटकको खेल विशाखापट्टनममा सरेको छ । जहाँ दिल्लीले लखनउविरुद्ध शानदार पुनरागमन जित हासिल गरेको छ । यसैबीच, हैदराबाद पनि लखनउसँग नै पराजित भएको थियो ।
आइपिएलमा पहिले ब्याटिङ गर्ने टिमले विशाखापट्टनममा ५० प्रतिशत खेल जितेको छ । आइपिएलको पहिलो इनिङ्समा पछिल्लो तीन रन १९१, २७२ र २०९ रहेको छ ।
यि दुई टोलीबीच अहिलेसम्म आइपिएलमा २४ खेल भएका छन् । जसमा हैदराबादले १३ खेल जित्दा दिल्लीले १० खेल जितेको छ । विशाखापटनममा भने दिल्लीले खेलेका ८ मध्ये ४ मा जित र ४ मा हार बेहोरेको छ ।
त्यस्तै आइतबारको दोस्रो खेल राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स बीच हुँदै छ ।
दुईबीचको खेल राजस्थानको घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । दुवै टोलीले आज तेस्रो खेल खेल्दैछन् । चेन्नई दोस्रो जितको खोजीमा रहेको छ । चेन्नईले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । तर दोस्रो खेलमा घरेलु मैदानमा १७ वर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो ।
राजस्थान भने अघिल्ला दुवै खेलमा पराजित भएकोले पहिलो जितको खोजीमा छ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र दोस्रो खेलमा कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।
आइपिएलमा दुवै टोली हालसम्म २९ पटक आमने सामने भएका छन् । जसमा चेन्नई १६ तथा राजस्थान १३ खेलमा विजयी भएको छ ।