काठमाडौं । पियोर इनर्जी लिमिटेडले यही चैत्र २८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँट लगत्तै पुनः सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
यसपटक पियोर इनर्जीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।
कम्पनीले १ करोड ६० लाख रुपैयाँबराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँडफाट गरिसकेको छ भने बाँकी १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा बसेका नेपालीहरुका बाँडफाँट गरिसकेको छ। यस्तै कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
चैत २८ मा निस्कासन गर्न लागेको आईपीओमा सर्वसाधारणले घटीमा १० कित्ता शेयरकालागि आवेदन दिन सक्नेछन् भने बढीमा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा २०८२ बैशाख २ गते हुनेछ भने ढिलोमा बैशाख ११ गते हुनेछ।
त्यसैगरी कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।