काठमाडौं । निदाएको सरकारलाई बिउँझाउन भन्दै गीत गाउँदै सिठ्ठी बजाउँदै रमाइलो शैलीमा शिक्षकहरु सडक आन्दोलनमा उत्रेका छन् । विद्यालय शिक्षा ऐन पारित गरियोस् भन्दै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् । निदाएको सरकार बिउँझियोस् र आफ्ना मागहरु सुनोस् भन्दै शिक्षकहरुले सिठ्ठी बजाएर सडक आन्दोलन गरिरहेका छन् ।
शिक्षकहरुको आन्दोलन पाँचदिनदेखि निरन्तर चलिरहेको छ । यसले गर्दा एसईईको नतिजा तोकिएको समयमा हुन नसक्ने देखिएको छ । शिक्षकहरू आफ्ना माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो ।
यो साताबाट एसईईको उत्तरपुस्तिका परीक्षण हुनुपर्ने हो । तर, शिक्षकहरुको सडक आन्दोलनका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन । त्यसले पनि परीक्षण प्रभावित हुँदा असार ७ मा निकाल्ने भनेको नतिजा प्रभावित हुन्छ ।
शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण, गोष्ठी, तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
अहिले चलिरहेको शिक्षकहरुको यो आन्दोलनलाइ अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ। शिक्षक महासंघले एक विज्ञप्ति जारी गर्दै आफ्ना मागहरु पुरा नभए भोलीदेखि आम हड्तालको घोषणा गरेको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरुलाई आग्रह गर्दछौ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले भनेको छ ।
शिक्षकहरुले रमाइलो शैलीमा सिठ्ठी बजाउँदै नाचगान गर्दै सडक आन्दोलन गरिरहेका छन् । चैत २० गतेदेखि शिक्षकहरु निरन्तर सडक आन्दोलनमा उत्रेका हुन् । आन्दोलनका कारण भर्ना अभियानसमेत प्रभावित भएको छ । कतिपय विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।