२०८२ मंसिर २४ | Dec 10, 2025

आज अन्तरराष्ट्रिय अपाङ्गता दिवस : राजधानीमा प्रभातफेरी

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १७
|
1.1k views

ललितपुर । आज अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवस हो । अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ ।

अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्ने तयारी भइरहेको छ । यसै अवसरमा राजधानीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा आज प्रभातफेरी आयोजना गरियो ।

आजको प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उहाँहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरियो ।

काठमाडौंको खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, सरोकार भएका निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका प्रतिनिधिहरुको सहभागिता थियो ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन प्रारम्भ भएको हो ।

यसै अवसरमा मङ्गलबार कतारको दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा नेपालका तर्फबाट अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष परराष्ट्रसचिव अमृतबहादुर राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तरराष्ट्रिय बजारसम्म पहुँच विस्तार, संरचनात्मक अवरोधहरूको अन्त्य तथा अन्तरराष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक स्रोत साधनको उपलब्धता निश्चित हुनुपर्नेमा कुरामा जोड दिएका थिए ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवं सामाजिक आन्दोलनका माध्यमबाट परिवर्तन गर्दै आएको बताएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै “अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापन गर्न व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँच युक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवालमा नेकपा एमाले गम्भीर छ”, भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया