काठमाडौँ । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज पनि राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ तान्दै छ । लामो समयदेखि अधिक तरलता नघटेपछि राष्ट्र बैंकले बुधबार पनि २० अर्ब रुपैयाँ तान्न लागेको हो । यसअघि सोमबार पनि राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ तानेको थियो ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्लो केही समयदेखि नियमित रुपमा बजारबाट पैसा तान्दै आएको छ ।
निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप सङ्कलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज (बुधबार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।