ललितपुर । बौद्ध धर्मका प्रणेता अर्थात् शान्तिका अग्रदुतको रुपमा विश्वभर चिनिने सिद्धार्थ गौतमको आज २५६९ जन्मजयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।
अहिंसा र विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्याएको योगदानको स्मरण गर्दै यस पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) समेत आजैका दिन अर्थात् वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
‘सूर्य, चन्द्रमा र सत्यलाई कसैले लुकाउन सक्दैन, अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, म यो कहिले पनि देख्दीन की के गरियो, म केवल यो मात्र जान्दछु कि के गर्न बाँकी छ यी यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
बुद्ध जयन्तीलाई नेपालमा लुम्बिनी दिवसको रुपमा समेत मनाउने गरिन्छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन नेपाल सरकारले आह्वान गरेको छ ।
विशेष गरी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । भगवान् विष्णुको नवौँ अवतारका रूपमा उनको जन्म भएको मानिन्छ ।
यसै अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । वि.सं. २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक नेपालमा सार्वजनिक बिदा दिएको थियो । यस्तै वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिईदै आएको छ ।