काठमाडौँ । आज चैत्र शुक्ल नवमी अर्थात् रामनवमी पर्व । यस पर्वका अवसरमा आज बिहानैदेखि देशभरका विभिन्न राम मन्दिरहरुमा भक्तजनको ठूलो भीड लागेको छ । विशेष गरी नेपाल र भारतमा प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस अवसरमा जनकपुरको रामजानकी मन्दिर, काठमाडौंको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
आज असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।
रामनवमीका अवसरमा विशेष गरी जनकपुरको जामजानकी मन्दिरमा विशेष पुजा–अर्जना हुने गर्छ । त्यस्तै काठमाडौंको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि विशेष पुजा गरेर यो पर्व मनाइन्छ । आज बिहान ४ः०० बजेदेखि नै भक्तजनका लागि खुला गरिएको बत्तीसपुतलिको राम मन्दिरमा श्रीरामचन्द्र मन्दिर बत्तीसपुतलीमा आज नेपालका चर्चित कलाकारबाट भक्तिसङ्गीत कार्यक्रमको आयोजना पनि गरिएको छ ।
परम्परा अनुसार त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मिकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गरी यस पर्वलाई विशेष रुपले मनाउने गरिन्छ ।
धर्मग्रन्थ अनुसार अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नास गर्नुभएको थियो । ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको थियो । त्यसैले रामचन्द्रलाई आजसम्म पनि आदर्श राजाका रूपमा स्मरण गरिँदै आएको छ ।
आजैका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत विभिन्न धार्मिक पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक स्वीकार गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुहुने उनै रामको सम्झना स्वरुप आजसम्म पनि रामनवमी पर्व मनाइन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शुभकामनामा भन्नुभएको छ, “प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्थ्यो । लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन् ।”
रामनवमीको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।