काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस । नेपालमा पनि पुस्तक प्रेमीहरुले यस दिवसलाई स–सम्मान मनाउँदैछन् । यसवर्षको पुस्तक तथा पैतिलिपि अधिकार दिवसको नारा “दिगो विकास लक्ष्य हासिल गर्न साहित्यको भूमिका” रहेको छ ।
आजको दिनले विश्व साहित्यमा समेत ऐतिहासिक महत्त्व राख्छ । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ तारिखमा यो दिवस मनाउन पहल गरेको थियो । यसअघि यस दिवस अप्रिल ७ मा मनाउने गरिन्थ्यो ।
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको मुख्य उद्देश्य भनेको पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पुस्तक पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु नै हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानून जानकारी र प्रतिलिपि अधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा गरिन्छ ।
स्पेनका सुप्रसिद्ध लेखक मिग्वेल डी क्रेभान्टेसको सम्मानमा अप्रिल ७ मा मनाउने गरिएको यो दिवस विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर अनि इन्का गार्सिलासो डेला भेगाको आजकै दिन निधन पश्चात् भने अप्रिल २३ मा मनाउन थालिएको हो । उनीहरु दुवैको निधनै अप्रिल २३ कै दिन भएको थियो ।