ललितपुर । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९औँ बुद्ध जयन्ती, गौतम बुद्ध जन्मस्थल लुम्बिनी लगायत देशभरका बौद्ध विहार, स्तूपा र गुम्बाहरुमा विशेष पूजाअर्चना सहित विविध कार्यक्रमका साथ मनाइँदैछ ।
बुद्धजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध स्तूमा शान्तिको प्रतीकको रुपमा चिनिने सेतो परेवा उडाएर विशेष विशेष पूजा गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन थरेका थिए। बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका थिए ।
पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै सो कुरा बताएका हुन् । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”
२५६९ औँ बुद्ध जयन्तीका अवसरमा हुने विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी पुगेका छन् । यसअघि प्रधानमन्त्री ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना सन्देश व्यक्त गरेका थिए ।
पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।” उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेका हुन् ।

बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहलले भनेका छन्, “इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो ।”
बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको भन्दै उनले भने, “शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको पच्चीस सय ६९औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताएका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली जनताको सक्रिय सहभागिता र सहकार्यमा मात्र लुम्बिनीको दीर्घकालीन र दिगो विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन् । उनले भगवान् बुद्धका उपदेशहरूबाट प्रेरणा लिएर सामाजिक सद्भाव, सहिष्णुता, एकता र समर्पणको भावना फैलाउन आग्रह समेत गरेका छन् ।
“लुम्बिनीको समग्र विकासका लागि तयार पारिएको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित छ”, मुख्यमन्त्री आचार्यले सन्देशमा भनेका छन्, “ बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा, सदाचार र शान्तिको मार्गदर्शनले व्यक्ति, समाज, राष्ट्र र विश्वकै कल्याणमा सकारात्मक प्रभाव पार्ने छ भन्ने दृढ विश्वास लिएको छु ।”
यसैबीच पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करूणा, अहिंसा र शान्तिमात्रै मानव सभ्यताको रक्षा हुने बताएकी छिन् । शान्तिका अग्रदूत गौतमबुद्धको पच्चीस सय ६९औँ जन्मजयन्ती तथा किरात समुदायको पर्व उभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाउनुभएको बताएकी छिन् ।
यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन् ।
बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्दै देउवाले नेपाली भूमिमा जन्मनुभएका बुद्धका ज्ञान र आदर्शले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् । सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरेका छन् ।
अशान्ति, हत्या र हिंसाको विरोध गरी देशमा शान्ति कायम र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना गर्दै उनले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमीमा शुभकामना व्यक्त गरेका ।
बुद्धजयन्तीका अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ ।



