ललितपुर । आज अठारौँ गणतन्त्र दिवस । देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी हर्षोल्लास साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभावको सहभागिता रह्यो ।
यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिँदैछ ।
कार्यक्रममा गणतन्त्रको महत्त्व झल्कने विभिन्न झाँकी प्रदर्शनीका साथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतबाट मार्चपास हुनेछ । साथै गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गर्ने कार्यक्रम छ ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
विभिन्न राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले समेत गणतन्त्र दिवसका अवसरमा यसको महत्त्व उजागार गर्ने विभिन्न कार्यक्रम आयोजना गरेका छन् । गणतन्त्र दिवसका अवसरमा नेकपा (एमाले) ले आज राजधानीको भृकुटीमण्डपमा ‘गणतन्त्र उत्सव’ आयोजना गरेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले पनि यस वर्षको गणतन्त्रका अवसरमा विभिन्न सामाजिक एवं रचनात्मक कार्य गरी मनाउन लागेको छ ।