ललितपुर। यही जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि राजावादी समूहले गर्ने भनिएको प्रदर्शनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा संगठनका प्रमुखसँग जानकारी लिएका छन् । आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले यस सम्बन्धमा सम्पूर्ण जानकारी लिएका हुन् ।
जानकारीका क्रममा प्रधानमन्त्री ओलीले राजावादीले कस्तो प्रकृतिको प्रदर्शन गर्न लागेका हुन् ? यसका लागि सुरक्षा अवस्थाको तयारी कस्तो छ भन्नेबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग राय लिएका हुन् । प्रधानमन्त्रीले राजावादीहरूको तयारीबारे जानकारी लिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
राजसंस्था सहितको हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका मागसहित गत चैतदेखि राजावादी समूहले सडक आन्दोलन गरिरहेको छ । गत चैत १५ गते तीनकुनेमा आयोजना गरिएको प्रदर्शन अराजक बन्दा दुईजनाको ज्यान समेत गएको थियो ।
जेठ १५ गतेदेखि निर्णायक आन्दोलनको तयारीमा जुटेको राजावादीको समूहले आन्दोलन चर्काउने तयारी गरिरहेको छ । यस्तै, राजसंस्थाको माग गर्दै पूर्वपञ्ज नवराज सुवेदीको संयोजकत्वमा जनआन्दोलन समिति नै बनेको छ । सुवेदी नेतृत्वकै समितिले आयोजना गरेको जेठ १५ को कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत सहभागी भएको थियो ।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन अराजक बनेपछि त्यस्ता अराजक प्रदर्शन गर्नेहरूविरुद्ध यतिबेला प्रहरीले मुद्दा चलाएको छ । आइतबार मात्रै प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंसहित ६२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
त्यसको ठीक दुई महिनापछि १५ गते नै पारेर राजावादीहरूले पुनः अर्को प्रदर्शन गर्न लागेका हुन् । ।