काठमाडौं । चैत २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने महासंघले चैत २० गतेदेखि सुरु गरेको आन्दोलन आज पनि जारी छ । माइतीघरदेखि बिजुलीबजार पुलसम्मको मुख्य सडक कब्जा गरेर आन्दोलन गर्दै आइरहेको शिक्षकहरूले आजदेखि भने सडक नै कब्जा गरेर आन्दोलन गरेका छन् ।
शिक्षा विधेयक माथि छलफल गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको हो ।
शिक्षक महासंघले भने वार्तामा जाने कि नजाने भन्ने विषयमा आफ्नो धारणा राखेको छैन । त्यसकारण पनि वार्ताका लागि तय भएको साँझ ५ बजेको समयमा आइदिनुभएन भने समय सर्न सक्छ, मन्त्रालयका अधिकारीले भने ।
यसअघि पनि सरकारले वार्ताका लागि शिक्षक महासंघलाई बोलाएको थियो । तर शिक्षक संघ हामीलाई कुनै नयाँ सम्झौता चाहिएको होइन पुरानै सम्झौता कार्यान्वयन गरियोस् भन्दै अड्डी कसेर वार्तामा गएको थिएन । तर आज भने महासंघ सरकारसँगको छलफलमा सहभागी हुने संकेत देखिएको छ ।
आज पनि दिनभर नै शिक्षकहरु आन्दोलनमै छन् । दिउँसोको तीन बजेसम्म शिक्षकहरुको आन्दोलनकै कार्यक्रम भएकाले यसपछि मात्र वार्ताका लागि समय तय गर्न महासंघले सरकारलाई भनेको थियो । ‘सोही अनुसार शिक्षा मन्त्रालयले साँझको पाँच बजेको समय छलफलका लागि तय गरेको छ ।
आज साँझ हुने छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।
नेपाल शिक्षक महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली तयार पारिएको संघले जानकारी दिएको छ ।