काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनका क्रममा आइतबार निषेधित क्षेत्र तोड्न खोज्दा झडपको स्थिति पैदा भएको छ । २५ दिनसम्म शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरुले आज २६ औं दिनका दिन प्रहरीमाथि ढुङ्गा बर्षाएका हुन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच आज नयाँ बानेश्वरमा धकेलाधकेल समेत भएको हो । त्यसपछि शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । प्रहरीले यसलाई रोक्ने खोजेपछि आक्रोशित भएका शिक्षकहरुले एक्कासी प्रहरीमाथि ढुंगा प्रहार गरे र त्यसको प्रतिकारमा प्रहरीले पानीको फोहोरा हानेको छ ।
शिक्षकहरुले आइतबार निषेधित क्षेत्र तोडेर आन्दोलन गर्ने घोषणा शनिबार नै गरेका थिए । त्यसैको आधारमा संसद भवनको आसपासमा प्रहरीको बाक्लो उपस्थिति थियो ।
शिक्षकका माग पुरा, गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाउँदै शिक्षकहरु संसद् भवन छिर्न खोजे पछि प्रहरी त्यसको प्रतिकारमा उत्रेको हो ।