काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाको समेत सहभागिता हुने भएको छ ।
सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा पूर्व अध्यक्ष थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् ।
थापा माथिको प्रतिबन्ध हटे लगत्तै यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन क्लबकै हैसियतमा प्रतिनिधित्व गर्नेछ । थापासँगै सुरेन्द्र बस्नेतलाई पनि आरसी ३२ ले आफ्नो प्रतिनिधि चयन गरेको छ।
एन्फाले उपलब्ध गराएको फारममा आरसी ३२ ले आफ्नो प्रतिनिधिको रुपमा थापा र बस्नेतको नाम उल्लेख गरेको हो।
पूर्व अध्यक्ष थापामाथि फिफाले लगाएको १० वर्षे प्रतिबन्ध दुई साता अघि मात्र सकिएको थियो । त्यसपछि आरसी ३२ ले थापालाई आफ्नो कार्यसमितिको सदस्य चयन गरेको बताइएको छ ।
आरसी ३२ ले आफूलाई प्रतिनिधि चयन गरेको पत्र सोमवार सामाजिक सन्जालमार्फत सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘एन्फाका सबै साथीहरूसँग २६ गते साधारणसभामा भेटौँ।’