२०८२ कार्तिक २३ | Nov 09, 2025

आर्थिक समृद्धिको मूल आधार पर्यटनः पर्यटन सचिव

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २४
|
663 views


ललितपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार रहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ३५औँ वार्षिक साधारणसभामा उनले वर्तमान सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने स्पष्ट पारे ।

सचिव मैनालीले नेपाल पर्वतारोहणको दृष्टिकोणले असाध्यै सम्भावनायुक्त मुलुक रहेकाले विश्वभर प्रवर्द्धन गरेमा मुलुकले यथोचित लाभ लिने विश्वास व्यक्त गरे । उनले भने , “पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ ।”

पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले अथाह पर्यटकीय सम्भावनायुक्त नेपालको पर्वतारोहण क्षेत्रको विकास र प्रवर्द्धनका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्दै हिमाली पर्यटन र सभ्यताको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेकोमा जोड दिए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पर्वतीय पर्यटनको दिगो विकासका लागि जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा पर्यटन क्षेत्रका अगुवा संस्थाहरू एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखे ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको बलियो साझेदारी आवश्यक रहेको उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया