काठमाडौं । आवासीय चिकित्सक संघले आफूहरुले गर्दै आएको आन्दोलन जारी रहेको घोषणा रेका छन् । चिकित्सकहरुले सरकारसँग भएको भनिएको सहमति अस्वीकार गर्दै आन्दोलन जारी राखेको बताएका हुन ।
शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र केही आवासीय चिकित्सकबीच छलफलपछि चार बुँदे सहमति भएको र यससँगै आवासीय चिकित्सकहरूको आन्दोलन फिर्ता गरिएको भनिए पनि चिकित्सकहरुले आन्दोलन जारी रहेको बताएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दैै संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले “पटक–पटक निर्देशन दिने बाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको’ भन्दै आन्दोलन जारी नै राख्न बाध्य भएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “विभिन्न सञ्चारमाध्यममा आएका ‘आन्दोलनरत चिकित्सकहरू र सरकारबीच सहमति’ शीर्षकका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सरकारसँग हाम्रो कुनै पनि सहमति नभएको जानकारी गराउन चाहन्छौँ ।’
चिकित्सकहरुले विगत तीन महिनादेखि चिकित्सा शिक्षा आयोगले निर्णय गरे अनुसारको पारिश्रमिक पाएका छैनन् । ‘तीन महिनादेखि पारिश्रमिक नपाएका आवासीय चिकित्सकलाई पारिश्रमिक दिलाउनुको सट्टा ‘निर्देशन दिने’ सहमतिजस्ता निर्लज्ज क्रियाकलापहरूप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष हो भन्दै संयोजक डा. शेषराज घिमिरेले आन्दोलन जारी नै रहेको बताएका छन् । उनले भने ‘हामीसँग कुनै पनि संवाद नगरी आन्दोलनलाई रोक्ने एकतर्फि निर्णय भयो,’ केही साथीलाई युज गरियो, तर माग पूरा नभएसम्म आन्दोलन जारी नै रहन्छ ।’
‘त्यसैगरी संघको निर्णय नमान्ने निजी मेडिकल कलेजलाई एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच कार्यक्रमको सम्बन्धन खारेज, बीमालगायत सरकारी अनुदानका सम्पूर्ण कार्यक्रम रद्द गर्नेलगायतका कारबाही गर्नुपर्ने स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको माग छ ।