काठमाडौं । इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पु¥याउने चेतावनी दिएका छन् ।
उनले भनेका छन् “तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ । बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ ।”
हिजबुल्लाह र हमाससँगै यमनका हुथी विद्रोहीहरू इजरायल र उसको सहयोगी संयुक्त राज्य अमेरिकाविरुद्ध इरानको ‘प्रतिरोधको धुरी’ को हिस्सा हुन् । हिजबुल्लाहले सन् २०२३ को अक्टोबरमा आफ्नो सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेको थियो ।
नोभेम्बरमा भएको युद्धविरामसँगै समाप्त भएको शत्रुताको एक वर्षमा इजरायली सेनाले हिजबुल्लाहलाई छियाछिया बनाइदिएको छ भने हमासको नेतृत्व अक्टोबर ७ मा भएको आक्रमणबाट सुरु भएको युद्धमा ध्वस्त भएको छ ।
हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए ।
इरानले हुथी विद्रोहीको आक्रमणमा सहयोग गरेको अस्वीकार गर्दै आएको छ । इजरायलले विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाको विमानस्थल र राजधानी र वरपरका विद्युत गृहमा आक्रमण गरेर हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको थियो ।