Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

एक अर्ब ६० करोडको लगानीमा मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर। करिव एक अर्ब ६० करोडको लगानीमा मनाकामनाको दोस्रो केबलकार पोखरामा बन्ने भएको छ । दुई ठूला व्यावसायिक कम्पनीले पोखराको पुम्दिकोटमा केबलकार सञ्चालनमा ल्याउने भएका छन् ।

उक्त केबलकार पूर्वाधार बनाउनका लागि ८० प्रतिशत बैंकको लगानी र बाँकी २० प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइसकिएको छ । चितवन कोइ ग्रुप र अग्नि ग्रुप गरी यी दुई ठूला कम्पनीको कुल एक अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा पुम्दिकोट महादेव केबलकार सञ्चालनको तयारी थालिएको हो ।

पहिलो चरणमा यतिबेला केबलकार परियोजनाको पूर्वाधारका लागि जग्गा प्राप्तिको काम भइरहेको विकासकर्ता कम्पनी पुम्दिकोट महादेव केबलकारले जनाएको छ । उक्त केवलकारको लम्बाई १.१ किलोमिटर रहेको छ । निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउँदा प्रतिकिलोमिटर लागत एक अर्ब ४५ करोड रुपैयाँ पर्ने देखिएको कम्पनीले जनाएको छ ।

२०२६ को जुलाईसम्म सम्पूर्ण कार्य सम्पन्न गरिने लक्ष्यका साथ काम अगाडि बढिरहेको पुम्दीकोट कमपनीले जनाएको छ । निर्माण सम्पन्न गर्न करिव साँढे एक वर्षको समयावधि लाग्ने छ ।

पोखरा भ्रमणमा जाने पर्यटकहरुलाई आकर्षित गर्ने हेतुले यसअघि नै सन् २०२३ मा पुम्दिकोट महादेव केबलकार स्थापना भएको हो ।

केबलकार निर्माण समूहमा चितवन कोइ ग्रुपका सञ्चालक राजेशबाबु श्रेष्ठ र अग्नि ग्रुपको तर्फबाट अर्जुनप्रसाद शर्मा रहेका छन् । चितवन कोई ग्रुपले सन् १९९८ देखि मुलुककै पहिलो मनकामना केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीले एक अर्ब २८ करोड ४० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया