ललितपुर । पछिल्लो समयमा आगलागीबाट ज्यान गुमाउने संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो एक महिनाको समयमा देशभर आगलागीबाट ११ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये तीनजना पुरुष, पाँचजना महिला, तीनजना बालबालिका रहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको पनि जानकारी दिएका छन् । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् ।
आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उहाँले बताउनुभयो । नागरिक सचेत भए पनि घेरै घटना रोक्न सकिने जनाइएको छ ।
प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा ससरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १८९ पशुचौपायसमेत मरेको छ ।
ती आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजार बढीको आर्थिक क्षति पनि भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
आगलागीबाट ११० परिवार विस्थापित नै भएका छन् । एक महिनामै ६३४ वटा आगलागीका घटना भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कुन प्रदेशमा कति आगलागीका घटना
प्रहरीका अनुसार वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना लुम्बिनी प्रदेशमा भएको छ । उक्त प्रदेशमा १४३ वटा आगलागीका घटना भएको छ । त्यसपछि १३६ वटा आगलागीका घटना कोशी प्रदेशमा भएको छ । यसैगरी, १०४ वटा आगलागीका घटना मधेश प्रदेशमा भएको पनि प्रवक्ता थापाले बताए।
यसैगरी, बागमतीमा ६४, काठमाडौँ उपत्यकामा ३२, गण्डकी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ ।
धेरै आगलागीका घटना मानवीय कारणले हुने गरेको आगलागीसँग सम्बन्धित विज्ञहरूले बताउँदै आएका छन् । रासस