२०८२ मंसिर २४ | Dec 10, 2025

एमसीसीले नेपाललाई थप्यो ७ अर्ब अनुदान, कुल सहायता ७४ करोड ७० लाख

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ३
|
867 views

ललितपुर । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि एमसीसी कम्प्याक्टमा अतिरिक्त ७ अर्ब रुपैयाँ अर्थात् ५ करोड अमेरिकी डलर अनुदान थप गर्ने भएको छ । यससँगै परियोजनाअन्तर्गत उपलब्ध कुल सहायता ७४ करोड ७० लाख अमेरिकी डलर (लगभग १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ ।

दुई देशबीचको सम्झौताअनुसार अमेरिकाबाट कुल ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर हुनेछ । एमसीसीले उपलब्ध गराएको यो अतिरिक्त सहयोगले नेपालका प्राथमिकता प्राप्त प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार परियोजनाहरूलाई पूर्णता दिन महत्वपूर्ण टेवा पुर्याउने बताइएको छ । यसले ऊर्जा ग्रिडको सुदृढीकरण, उत्पादन–प्रसारण–व्यापार श्रृंखलामा विश्वसनीयता बढाउने र क्षेत्रीय ऊर्जा व्यापारलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

एमसीसी मार्फत् यो अमेरिकी अनुदानले नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जा कनेक्टिभिटीमा थप मजबुत बनाउने, बजार पहुँच सुधार गर्ने र ऊर्जा पूर्वाधार निर्माणमा अमेरिकी उत्कृष्टता तथा प्रविधिको उपयोग बढाउने उल्लेख गरिएको छ । यससँगै अमेरिकी कम्पनी तथा प्रविधि प्रदायकका लागि नेपाली ऊर्जा बजारमा प्रवेशको अवसरसमेत विस्तार हुने बताइएको छ ।

यस किसिमको सहायताले नेपाल–अमेरिका सम्बन्धको दीर्घकालीन साझेदारी र पारस्परिक समृद्धिको साझा प्रतिबद्धताको संकेत दिएको छ । एमसीसी कम्प्याक्ट ऋणरहित, अनुदानमा आधारित उच्च प्रभावयुक्त पूर्वाधार निर्माणमा केन्द्रित कार्यक्रम भएकाले दीर्घकालीन आर्थिक वृद्धि र ऊर्जा सुरक्षामा यसको योगदान महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

अमेरिकी दुतावासको एक स्टेटमेन्टले बताए अनुसार यो आर्थिक सहयोगले अमेरिका र नेपालबिच रहेको चिरस्थायी साझेदारी प्रतिबिम्बित गर्दछ । दशकौँसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गरेका छन् । एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ ।

नेपालमा एमसीसी लागू भएको करिव दुई वर्ष भइसक्दा पनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन् । जुन किसिमले खर्च हुनुपर्ने थियो त्यो हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया