काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब छिट्टै राष्ट्र बैंकको गर्भनर नियुक्ति हुने बताएका छन् । शुक्रबार बिहान बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले गभर्नरको नियुक्ति एमालेसँगको सहमतिमै चाँडै हुने सभापति शेरबहादुर देउवाले ब्रिफिङ गरेको जानकारी दिए।
सभापति देउवाले राष्ट्र बैंकको नेतृत्व प्रोफेसनल, व्यवसायिक, मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगले अगाडि बढाउने उल्लेख गरेका छन्। सभापति देउवाको भनाई उदृत गर्दै महतले भने, ‘गभर्नरको विषय निकै ढिला भएकोमा चासो प्रकट भएको छ । चाँडै टुंगो लाग्छ र हामीले प्रोफेसनल, व्यवसायिक, मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिको हातमा जानुप¥यो भनेका छौं, त्यसको चाँडो निर्णय हुन्छ । सहमतिबाट निर्णय हुन्छ ।’
यस विषयमा एमालेसँग सहमति भइसकेको अब छिट्टै राष्ट्र बैंकले गर्भनर पाउने कुरामा विश्वस्त हुन नेपाली काँग्रेसले ब्रिफिङ गरेको छ । गभर्नर नियुक्तिमा ढिलाई भइरहेको बारेमा नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीका कारण नभएको समेत स्पष्ट पारेका छन् । एक कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकमै समस्या भएका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका थिए। प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको देउवाको भनाइ छ।
बैठकमा उनले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नहुँदा समस्या परेको बताएका छन् । उनको ब्रिफिङपछि कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृतिका लागि केही दिन हेर्ने र स्वीकृत नगरे विकल्प दिने संकेत गरिएको छ ।