ललितपुर । व्यक्ति, संस्था, बस्तु वा यस्तै कुनै पनि चिजको अलग छवि (ब्राण्ड) बनाउन बर्षौ पनि लाग्छ, केही समय मात्र पनि लाग्छ । आफ्नो अलग परिचय सहितको ब्राण्ड बन्नु बनाउनेका लागि सुखद र गर्वको कुरा हो । तर नयाँ ब्राण्ड बनाउने लहडमा यसअघि बनेका छवि र कमाएको ख्यातिमा समेत नकारात्मक असर पुग्यो भने कालान्तर सम्म ठूलो परिमाणमा क्षति पुराइ रहन्छ ।
राजनीतिमा स्थापित नेकपा एमाले र उसको चुनाव चिन्ह सूर्य दुवै र त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओली आफैमा स्थापित ब्राण्ड हुन् थप नयाँ परिचय खोज्नु पर्ने आवश्यकता नै नभएको समयमा ओलीले ‘म झोले हो’ नयाँ ब्राण्डको अभियान नै चलाए जुन लहड बाहेक केही हैन । उनको यो लहडलाई उनका खाटी अनुयायीले समेत रुचाएको पाइएन । बरु असन्तुष्टि सुनिए, सुनिँदै छन् ।
यसो त प्रतिकात्मक रूपमा नेपाली राजनीतिमा झोले शब्द नकारात्मक अर्थमा नै प्रयोग भएको पाइन्छ । तर ‘झोले’ शब्द आफैँमा नकारात्मक शब्द भने होइन । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’मा झोलेको अर्थ अर्काको झोला बोक्ने, झोल भएको; रसदार र झोला बोकेर हिँड्ने उल्लेख छ । प्रधानमन्त्री समेत रहेका ओलीले आफूलाई भनेको अर्कोको झोला बोक्ने, झोलेका रूपमा अर्थ्याएका छन् । जहाँ, उनले आफूले जनताको झोला बोक्ने गरेको जिकिर गरेका छन् । तर सामाजिक सञ्जालमा अर्काको झोला भनेको भारतको की चीनको भनेर ओलीमाथि प्रश्न तेर्साइएका छन् ।
खास गरी राजनीतिक रूपमा एकले अर्कालाई गाली गर्नु प¥यो, रोष पोख्नु प¥यो भने झोले शब्दको प्रयोग गरिन्छ । अझ भन्नुपर्दा, झोले शब्दले नेताका पिछालगुहरूलाई बुझाउने गरी ब्राण्डीङ भएको छ । यदि ओलीले यही शब्द राखेर नाकाबन्दीको समयमा ‘म झोले हो’ भन्ने पोस्टर बनाएर सामाजिक सञ्जालहरूमा साझेदारी गरेको भए सबै नेपाली नागरिकले पनि ‘म झोले हो’ भनेर साझेदारी गर्थे गर्वका साथ । अनि झोले शब्दको प्रयोग नै सकारात्मक प्रतिकका रूपमा स्थापित भई सकेको हुन्थ्यो ।
तर राज्य सञ्चालक प्रति राजनीतिक दल र कार्यकर्ता प्रति आम नागरिकको बढ्दो आक्रोश र चुलिँदो वितृष्णाका बीच ओलीको यो ‘म झोले हो’ अभियान आमरुपमा प्रीतिकर रुचिकर हुने कुरै भएन । एकाध एमालेका ओलीका कोर टिमका लागि उत्साहप्रद भए होला तर एमालेकै जिम्मेवार नेता कार्यकर्ताहरू पनि यो अभियान प्रति सन्तुष्ट सुनिएनन् । यदि ओलीको यो अभियानमा सबैको दिलचस्पी थियो भने एमालेका उसले भन्ने गरेका ८ लाख सङ्गठित सदस्य मध्य कम्तीमा आधाले त पोस्टर साझेदारी गर्नु पर्ने हो । जतिले पोष्ट गरेका छन् त्यसमा पनि नकारात्मक प्रतिक्रियाको बाढी नै छ ।
सायद यही कारण वा भोलि कतै दर्शक श्रोताबाट बहिष्करणमा पो परिन्छ की भनेर हो एमाले निकट अधिकांश सांस्कृतिककर्मी ,सङ्गीतकर्मीहरू पनि झोले बन्न तयार भएनन् । कलाकारिता र सङ्गीत कर्म बाट आफ्नो ब्राण्ड बनाएका एमालेका शुभेच्छुक मात्र हैन एमालेको जनसङ्गठनमै आबद्ध पदाधिकारी पूर्व पदाधिकारीहरूले पनि ‘म झोले हो’ भन्न सकेका छैनन् उनीहरू मौन छन् । त्यसो त अचेल कुनै अन्तर्वार्तामा पत्रकारले राजनीतिक दलका नेताका बारेमा बोल्न भन्यो भने कलाकारहरू बरु मरुँला म बोल्दै बोल्दिन भन्न थालेका छन् भने आफूले आफैलाई झोले घोषणा गर्न कसरी सक्थे र ?