ओस्कर अवार्ड विजेता प्यालेस्टिनी फिल्म निर्देशक हमदान बल्लालाई इजरायली सेनाले नियन्त्रणमा लिएको छ । उनका सह–निर्देशक युवल अब्राहमले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो कुराको जानकारी गराएका हुन् । केही इजरायलीहरूले वेस्ट बैंकमा रहेको उनको घर नजिकै निर्ममतापूर्वक कुटपिट गरेको अनि उनको टाउको र पेटमा गम्भीर चोट लागेको युवलले आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।
घटनापछि हमदानले एम्बुलेन्स बोलाउँदा इजरायली सैनिकहरूले एम्बुलेन्स रोकेर हमदानलाई लिएको गएको बताइएको छ । त्यसपछि हमदानको अत्तोपत्तो नभएको उनले बताएका छन् । हमदान र युवलले मिलेर ‘नो अदर ल्याण्ड’ फिल्म बनाएका थिए । यो फिल्मले यस वर्ष ओस्करमा सर्वश्रेष्ठ वृत्तचित्र पुरस्कार पाएको थियो । फिल्मले युद्धको समयमा प्यालेस्टिनी कार्यकर्ता बासेल आद्रा र युवल बीच विकसित भएको मित्रता र संघर्षलाई देखाएको थियो ।
फिल्मले २०२४ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि अवार्ड पाएको थियो । हमदानलाई इजरायली बस्तीको प्रहरी चौकीमा राखिएको बताइएको छ । कसैलाई पनि उनीसँग भेट्न वा कुरा गर्न अनुमति नभएको पनि बताइएको छ। एजेन्सी