
ललितपुर । कवि तथा गीतकार युवराज अधिकारीले नयाँ कृति कविता सङ्ग्रह ‘युद्ध युद्ध नै हुन्छ ’ लिएर आउने भएका छन् ।
उक्त कृति आउँदो शनिवार सार्वजनिक गर्ने उनको तयारी छ ।
एपेक नेपालको आयोजनामा हुने उक्त कार्यक्रममा रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा अधिकारीका कविता मञ्चन हुनेछ । गीतकार अधिकारीले २०३६ साल तिरै ‘मेरा चित्कारहरू’ कवितासंग्रह बजारमा ल्याएका थिए । यस्तै उनको एकल रचनाको गीति सङ्ग्रह ‘देउरालीको फूल’ यसअघि सार्वजनिक भैसकेको छ । भने अन्य फुटकर गीतहरू पनि रेकर्ड भएका छन् ।
हङकङ नेपाली महासङ्घ , सूर्योदय नगरपालिका इलाम , क्यापिटल इन्टरटेनमेन्ट एण्ड इभेन्ट काठमाडौँ लगायतका संस्थाबाट विभिन्न समयमा सम्मानित भएका अधिकारीले कतारमा सम्पन्न स्टार इन्टरनेशनल अवार्डमा सर्वोत्कृष्ट गीति एल्बमको अवार्ड र नेपालमा सम्पन्न म्युजिक खबर अवार्डमा सर्वोत्कृष्ट गीतको अवार्ड प्राप्त गरेका छन् ।
२०४३ सालबाट नेपाल वायु सेवा निगममा स्थायी जागिरे भएका उनी विभिन्न जिम्मेवारीमा रहँदै अवकाश पाएका थिए । हाल उनी निगमको कार्यकारी अध्यक्ष पदमा कार्यरत छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया