२०८२ फाल्गुन ३ | Feb 15, 2026

काँग्रेस विशेष महाधिवेशनमा राखियो हिन्दु धर्मसहित संवैधानिक राजतन्त्र पुनःबहाली गर्ने प्रस्ताव

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २९
|
2.2k views

ललितपुर । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा समूहगत छलफलबाट आएका सुझावहरू टोली नेताले आज क्रमशःप्रस्तुत गरेका छन् । यसैक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले हिन्दू धर्मसहित संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग छलफल गर्न आवश्यक रहेको प्रस्ताव गरेका छन् ।

प्रदेश सभापति शर्माले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गर्न माग गरे। गणतन्त्रै हो भने पनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनले बताए । उनले अहिलेको परिस्थितिमा देश र जनता बचाउनु नेपाली काँग्रेसको पहिलो काम भएको बताए । उनले देशमाथि परिरहेको संकटको समाधान गर्न नेपाली काँग्रेसको नेतृत्वको खोजी भइरहेको बताए ।

गण्डकी प्रलेह सभापति शर्माले भने, ‘नेपाली काँग्रेस बचाउनु पहिलो काम हो । देशमाथि परेको संकटलाई समाधान गर्न पनि नेपाली काँग्रेसको नेतृत्व खोजेको छ । तसर्थ परिमार्जित, देश र जनताको सेवामा समर्पित नेतृत्व निर्माण गरी महाधिवेशनबाट चयन गरौँ । विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउन माग गर्दछौँ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गरौँ । संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग विचार विमर्श गरौँ । गणतन्त्रै हो भने पनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गरौँ ।’

आज विहानैदेखि भएको संस्थापन पक्षसँगको वार्ता निष्कर्ष विहीन भएपछि यतिबेला महामन्त्री गगन थापालाई पार्टी सभापति बनाउनु पर्छ भन्दै विशेष महाधिवेशन पक्षधरले नारा लगाइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया