ललितपुर । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्मको पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजश्व संकलन गरेको छ । उक्त अवधिमा गत आर्थिक वर्षमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६ सय ५७ रुपैयाँ संकलन भएको थियो ।
तुलनात्मक हिसावले हेर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको यस अवधिमा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी राजश्व संकलन भएको छ । गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्षको १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ । गत वर्ष यस अवधिमा १ अर्ब ९९ लाख २ लाख ६७ हजार ६ सय ९५ रुपैयाँ राजश्व संकलन भएको थियो । यो अङ्क गत वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९ सय ९५ रुपैयाँ कम हो ।
यस्तै, गत वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २ सय ७६ रुपियाँ संकलन भयो । यस वर्ष बहाल कर असुली बढेको छ । गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपँयाँ संकलन भएकोमा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५ सय ७० रुपैयाँ संकलन भएको छ । यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ । गएको वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ संकलन भएको छ ।
यसैगरी, भवन नक्शा शुल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ । गत वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजश्व असुली पनि घटेको हो ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया