कामना सेवा र क्वेस्ट इन्टरनेशनल कलेजबीच दक्ष जनशक्ति निर्माण सम्बन्धी समझदारी

काठमाण्डौ  ३१ भाद्र, २०७७

कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्वेस्ट कलेको तर्फबाट प्रिन्सिपल उदयराज पौडेल समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
२०६४ साल देखि आफ्नो वित्तीय कारोबार शुरु गरेको यस बैंकले देशका विभिन्न स्थानमा १२४ वटा शाखा तथा केन्द्रीय कार्यालय मार्फत नौ सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । साथै, क्वेस्ट इन्टरनेशनल कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन तर्फ बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको एउटा प्रतिष्ठित संस्था हो ।
यस कलेजमा सात सय बढी विद्यार्थी अध्यनरत छन् । कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेस्ट कलेजले अध्यापन, अनुसन्धान तथा तालिम मार्फत उक्त लक्ष्यमा योगदान पुराउने र कामना सेवा बैंकले क्वेस्ट कलेजका विद्यार्थीलाई इन्टरशिपको व्यवस्था गर्ने यस समझदारी पत्रको प्रमुख उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनु भयो । यो समझदारी मार्फत बैंकका कर्मचारीले क्वेस्ट कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुंदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको कलेजका प्रिन्सिपल उदयराज पौडेलले बताउनु भयो ।
यो समझदारीलाई मानव संसाधन विकासमा शैक्षिक क्षेत्र र उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको शुरुवाती कदमको रुपमा लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया