किसानलाई चौपायाबाट बाली जोगाउन मुश्किल

झलनाथ खनाल
भजनी २८, पुस २०७८ कैलालीको जानकी गाउँपालिका-७ का सीताराम चौधरीले पशु चौपाया लखेट्दै गाउँबाट जगतपुर जंगल पुगे।छाडा ती पशु चौपायाले  हिउँले बाली नष्ट गर्न थालेपछि उनीलगायत स्थानीयबासी मिलेर पशुलाई जगतपुर जंगलमा पुर्‍याएका हुन्। ‘खेतमा लगाएको गहुँ बाली भर्खर खेतमा हरियो पर्न थालेको के थियो। बेवारिसे पशु चौपायाबाट बचाउनै मुश्किल भएको छ,’ उनले भने, ‘खेतमै बसोबास हुँदा पनि कतिबेला छक्याएर आउँछन् थाहै हुँदैन। के हिउँदमा के बर्खा खेती लगायो भने अन्य प्रकोपको भन्दा बढी चिन्ता पशु चौपायाका कारण हुने गरेको छ।’
  
सोही ठाउँका सुमन चौधरीले दुई बिघामा लगाएका तरकारी तथा गहुँ खेतमा तारबार छैन।सडकसँग जोडिएको खेत भएकै कारण चौपायाले सबैभन्दा पहिला उनको खेत देख्ने गरेका छन्।‘एक जनाको दैनिक काम नै चौपायाको गोठालो बस्नुपर्ने भएको छ। रात दिन खेती जोगाउनका लागि खेतमै बस्नुपर्दा पुसको चिसोमा निकै कष्ट हुने गरेको छ’, उनले भने,‘अहिले त खेती लगाउने जाँगर पनि चल्दैन। खेती लगाएपछि छाडा पशु चौपायालाई ठिक्क हुन्छ। हुलमा देखिने चौपायाले एक दिनमै एक खेत नष्ट गर्छन्।’स्थानीयबासी रामकृष्ण विश्वकर्माका अनुसार स्थानीय सरकारले निर्वाचनका समयमा सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनको कार्ययोजनालाई प्रमुख बनाएका थिए।  

सो कार्ययोजना कार्यान्वयनमा आउन सकेको छैन।  सामुदायिक चौपायाको त्रासले कैयौं किसानहरूले खेती नै गर्न छोडिसकेको जनाउँदै यस्तै अवस्था रहे खेतीयोग्य जमिन पूरै बाँझो राख्नुपर्ने अवस्था आउने बताइएको छ।खेती नलगाएर के खाने भन्ने चिन्ता हुन्छ। लगायो भने चौपायालाई ठिक्क हुन्छ। लगानी पनि नआउने डर। के गर्ने, के नगर्ने ? किसानहरू निकै अलमलमा परेका छन्। प्राकृतिक विपत्तिबाट खेती जोगाउनुभन्दा बढीको चिन्ता सामुदायिक पशु चौपायाबाट बचाउनु भएको छ।’छाडा पशु चौपाया व्यवस्थापनका लागि स्थानीय तहले गौशाला निर्माणसमेत गरेका छन्।वार्षिक १५ देखि २० लाख रुपैयाँभन्दा बढी सामुदायिक चौपाया व्यवस्थापनका लागि खर्च गर्दै आएको भए पनि यसको प्रभाव किसानहरूमा पर्न सकेको छैन।

टीकापुर बजार क्षेत्रमा पनि सयौं छाडा चौपाया छन्।ती चौपायाकै कारण बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम उच्च छ।टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनसँगै चौपायाको मलमूत्रबाट गोबर ग्यास उत्पादन गरी नागरिकहरूलाई वितरणको प्रक्रियासमेत सुरूआत गरेको छ। तर नगरपालिकाले चौपाया व्यवस्थापनका लागि जिम्मेवारी दिएका कर्मचारीको ध्यान नदिँदा बजार क्षेत्रमा पशु चौपाया कम हुन नसकेको स्थानीय व्यापारी नन्दसिंह विश्वकर्मा बताउँछन्।अहिले अधिकांश स्थानीय बस्तीबाट छाडा चौपाया लखेट्दै जंगल पुर्‍याउने गरेको भए पनि यसको व्यवस्थापनमा स्थानीय तहले खटाएका कामदारहरूले चासो नदिएकै कारण पुनः तिनै पशु चौपाया गाउँ पुग्ने गरेको बताइएको छ।तिनै पशुले किसानको खेती नष्ट गर्ने गरेको स्थानीय किसानको गुनासो छ।

स्थानीय नवराज बाब्लीले एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउँदा चौपायाले यस ठाउँका किसानहरूलाई सास्ती गर्ने गरेको जनाउँदै एउटाले एक ठाउँ अर्कोले फेरि त्यही ठाउँ चौपाया धपाउने र दीर्घकालीन समाधानको बाटो नखोज्दा निकै समस्या भएको बताएका छन्।‘गौशाला निर्माण गरिएका छन्। चौपाया सबै समुदायमै देखिन्छन्। स्थानीय तहले लाखौं बजेट खर्च गर्दै आएका छन्’,उनले भने, ‘दीर्घकालीन समाधान नखोज्ने हो भने अधिकांश किसानको खेत बाँझो हुनेछ। यसले परनिर्भरतासमेत बढाउने निश्चित छ।’छाडा चौपायालाई जंगलमा छोड्नका लागि गाउँमा बड्घरले नै स्थानीयबासीलाई परिचालन गर्ने गरेको छ। RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया