मकवानपुरबाट बहेर आउने राप्ती नदीको चितवनमा निश्चित धार थिएन।
लोथरबाट तत्कालीन कुमरोज गाविस हुँदै बछौलीको सौराहासम्म समथर भूभागमा यसको फैलावट बढ्दो क्रममा थियो।
नदी जथाभावी बहँदा जमिन बगर बनेका थिए। आसपासका बासिन्दालाई नदीले धुरूक्कै रूवाएको थियो। यसैबीच उनीहरूले वृक्षारोपण अभियान चलाए।
२०४१ सालमा वृक्षारोपण अभियान सुरू हुँदा पनि कुमरोज क्षेत्रका बासिन्दाले राप्तीको ‘दादागिरी’ कम हुने ठानेका थिएनन्। बगर बनेको जमिनमा रोपिएका बाँस र अन्य बिरूवा हुर्कँदै थिए, २०५० सालमा झन् ठूलो बाढी आयो। त्यो बाढीले जनधनको ठूलो क्षति गर्यो। तर जता–जता बिरूवा हुर्कँदै थियो त्यहाँ क्षति कम भयो।
सधैँजसो नदीले दिने सास्तीले पीडित बन्ने गरेका स्थानीयले बल्ल मेसो पाए, ‘बिरूवा रोप्यो भने बाढीको जोखिम र क्षति कम हुन्छ।’
त्यसपछि सरकारी, गैरसरकारी संस्था र स्थानीय मिलेर कुमरोजको राप्ती नदी छेउमा वृक्षारोपणको अभियानलाई तीव्रता दिन थाले। बिस्तारै राप्ती नदीमा तटबन्ध गर्न थालियो, रोपिएका बिरूवाहरू पनि हुर्कन थाले।
बाढी रोक्न रोपिएका ती बिरूवा बढेर अहिले घना जंगल बनेको छ। वारपार छ्यांगै देखिने बगर कुमरोज मध्यवर्ती सामुदायिक वनका रूपमा परिचय बनाउँदै छ।
त्यतिमात्र होइन वन्यजन्तुको अवलोकनका लागि चितवन आउने पर्यटकको रोजाइ बन्दै गएको छ। पाटेबाघ, एक सिंगे गैंडा, घडियाल गोही, गौरीगाईलगायत दुर्लभ वन्यजन्तुको बासस्थान बन्दै गएको छ, कुमरोज सामुदायिक वन।
हराभरा वन र दुर्लभ वन्यजन्तुको अवलोकनका लागि दैनिक एक हजार बढी पर्यटक यहाँ पुग्ने गरेको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए।
पर्यटनमार्फत् यो वनले वार्षिक ४ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताए।
पर्यटकले जिप र हात्ती सफारीमार्फत् कुमरोज वन अवलोकन गर्ने गर्छन्। यस वनमा ७५ वटा जिप पर्यटक बोकेर घुम्नका लागि दर्ता भएका छन्।
यहाँ ११ जना पर्यटक बोक्ने जिपले दैनिक १७० वटासम्म सफारी गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताए। १३ वटा हात्तीले पनि नियमित सफारी गर्ने गरेका छन्। हात्ती चढेर अन्य जीवजन्तु हेर्नेको संख्या दैनिक ४०० सम्म रहने गरेको उनले बताए।
वनले पर्यटकलाई डुंगा सफारीका लागि भनेर कृत्रिम तालहरूसमेत बनाएको छ। तालमा स्थानीय दराई, बोटे समुदायले माछापालन गरी आयआर्जन गर्छन् भने पर्यटकले डुंगा चढेर मनोरञ्जन लिन्छन्।
अध्यक्ष श्रेष्ठकाअनुसार वनबाट भएको आम्दानीको ६० प्रतिशत संरक्षणमा र ४० प्रतिशत हिस्सा सामाजिक विकासमा खर्च गर्ने गरिएको छ।
कुमरोज सामुदायिक वनका सदस्य रेशमराज सापकोटाले वन र वन्यजन्तुप्रति नकरात्मक दृष्टिकोण भएका स्थानीयवासीले अहिले तिनैबाट फाइदा लिइरहेको बताए।
‘वन बढेपछि जनावरको बासस्थानका रूपमा विकास भयो। जनावरले गाउँलेलाई दुःख दिन थाले। मान्छेमाथि आक्रमण गर्ने, बाली खाइदिने भएकाले जनावरप्रति हेर्ने दृष्टिकोण नकरात्मक थियो,’ उनले भने, ‘वन्यजन्तु हेर्नैका लागि देश, विदेशबाट पर्यटक आउन थालेपछि स्थानीयले रोजगारी पाएका छन्। वनमार्फत् धेरै कुरामा सहयोग पाउन थालेका छन्।’
कुमरोज सामुदायिक वनमा २ हजार १०९ घरधुरी आवद्ध छन्। सामुदायिक वनले बिरामी भएका सदस्यलाई ५ देखि ३० हजार रूपैयाँ सहयोग गर्ने गरेको छ।
त्यस्तै, खानेपानी जडानका लागि ६ हजार, सुत्केरी भत्ता २ हजार, दूध उत्पादक किसानलाई प्रतिलिटर ५० पैसा उपलब्ध गराउँछ। साथै आदिवासी, जनजातिका लागि माछापोखरी र होमस्टे सञ्चालन गर्न वनले सहयोग गरेको छ।
सदस्य सापकोटाले वन्यजन्तुलाई गाउँ प्रवेश गर्न नदिन कंक्रिटको पर्खाल लगाउने काम चलिरहेकाले यसले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्ने बताए।
‘पहिले गाउँलेहरू गाई भैंसी चराउन जंगल जान्थे, अचेल जंगलको घाँस उपयोग गर्छन्। लुकीछिपी माछा मार्नका लागि राप्ती जान्थे, अहिले उनीहरूका लागि पोखरी नै काफी छ,’ सापकोटाले भने।
सौराहाबाट ९ किलोमिटर पर रहेको यस वनमा पर्यटक प्रवेश गर्न थालेको २०७४ सालको पुस ११ बाट हो।
३ किमि चौडाइ, ७ किमि लम्बाइसहित ७५० हेक्टरमा फैलिएको यो वनमा जिप र हात्ती चढेर घुम्नेमात्र नभई जंगलभित्र रहेका मचानमा बास बस्ने सुविधा पनि छ।
खैरहनी-१२ की दिलमाया दराईले पर्यटक आउने क्रम बढेपछि होमस्टे र माछापोखरीमार्फत आयआर्जनमा सहज भएको बताइन्। ‘वनका कारण रोजगारी मिलेको छ, खेतीपातीको मात्र भर पर्नु पर्थ्यो, अहिले आयआर्जनका विकल्प थपिएका छन्,’ उनले भनिन्।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरमा कार्यरत रेञ्जर योगेश ढकालले कुमरोज वनले गर्दै आएको कामले निकुञ्जलाई पनि संरक्षणमा सहयोग पुगेको बताए।
‘मानिसहरू निकुञ्जभित्र जान छाडे, माछा मार्न नजाँदा गोहीको संरक्षणमा फाइदा भइरहेको छ,’ उनले भने, ‘केही नभएको ठाउँ प्राकृतिक रूपले जनावरको निकै राम्रो बासस्थान बन्यो।’
उनले चितवनका सामुदायिक वनमा कुमरोज र बाघमारा नमूना बनेको बताए।
चरा विज्ञ टीकाराम गिरी पर्यटकसँग धेरै पटक यो वन पुगेका छन्। यहाँ पुग्दा उनले केही न केही नयाँ कुरा देख्न पाउँछन्।
‘कहिले चरा, कहिले अन्य जीवजन्तुले मोहित पार्छ। यहाँ आउने पर्यटक पनि यसै भन्छन्,’ गिरी भन्छन्, ‘संरक्षणका लागि गरेका कामकै कारण कुमरोज वन पर्यटकको रोजाइ बन्दै छ।’